गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ७ गते । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियता क्रममा नेपाल छ स्थान तल खस्केको छ । नयाँ वरियता बमोजिम नेपाल १६७ औं स्थानमा पुगेको छ ।
फिफाले बिहिबार जारी गरेको नयाँ वरियता क्रममा नेपाल १६१ औं स्थानबाट तल खस्किएर १६७ औं स्थानमा पुगेको छ । पछिल्लो वरियता क्रममा नेपाल तल खस्किनुको कारण विश्वकप फुटबल छनोटमा अष्ट्रेलिया र जोर्डन विरुद्धको बेहोरेको हारलाई मानिएको छ । नेपालले अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले हार बेहोरेको थियो । कुल २०९ राष्ट्र सम्मिलित वरियताको पुछारमा एंग्वुला रहेको छ ।
वरियतामा दक्षिण एशियाली राष्ट्रहरुमध्ये नेपालभन्दा मुनि बङगलादेश, भुटान, पाकिस्तान र श्रीलङ्का रहेको छ । नेपालभन्दा माथि रहेको भारतले पनि दुई स्थान तल झरेको छ । नयाँ वरियतामा भारत १०६ औं स्थानमा रहेको छ । विश्वकप छनोटमा नेपालले जित हात पारेको चिनीयाँ ताइपेइ एक स्थान तल झर्दै १३० औं स्थानमा पुगेको छ ।
दक्षिण एशियाली अर्को राष्ट्र बङगलादेशले वरियतामा चार स्थान माथि १८४ औं स्थानमा उक्लिएको छ । भुटान भने २०१ औं स्थानमा रहेको पाकिस्तानको वरियतामा भने सुधार आएको छ । यसअघि पाकिस्तान २०३ औं स्थानमा रहेको थियो । यसअघि २०२ औं स्थानमा रहेको श्रीलङ्का २०३ औं स्थानमा झरेको छ ।
एशियाली राष्ट्रहरुमा इरान वरियतामा सबैभन्दा माथि २७ औं स्थानमा रहेको छ । यद्दपी नयाँ वरियतामा भने ऊ चार स्थान तल झरेको छ । जापान भने तीन स्थान माथि उक्लिदै २८ औं स्थानमा पुगेको छ ।
वरियतामा सबैभन्दा बढी स्थान गुमाएको आयरल्याण्ड र मौरिसस हो । आयरल्याण्ड २८ औं स्थानबाट ३६ औं स्थानमा र मौरिसस १६१ औं बाट १७३ औं स्थानमा झरेको छ ।
नयाँ वरियतामा शिर्ष चार राष्ट्रमा कुनै परिवर्तन भएको छैन् । बेल्जियम शिर्ष स्थानमा यथावत रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छन् । ऊरुग्वे एक स्थान माथि पाँचौं तथा पोर्चुगल एक स्थान तल छैठौं स्थानमा झरेको छ । क्रोएशिया सातौं, स्पैन आठौं, आर्जेन्टिना नवौं र कोलम्बिया दशौं स्थानमा छन् । इटाली १५ औं र जर्मनी १६ औं स्थानमा यथावत छन् ।