logo
२०८१ मंसिर ९ आईतवार



आईसीसीद्वारा तीन बलरलाई कारबाही

खेलकुद |


आईसीसीद्वारा तीन बलरलाई कारबाही


एजेन्सी
काठमाडौं, कात्तिक ८ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकप टी ट्वान्टी क्रिकेट २०२० को छनोट खेलमा सहभागी तीन खेलाडीलाई निलम्बन गरेको छ । आईसीसीको टी ट्वान्टी छनोट प्रतियोगिताको मानवीय चालचलन सम्बन्धि विशेषज्ञ सम्मिलित समितिले तीनै खेलाडीको बलिङ ‘एक्शन’ संहिता विपरित रहेको ठहर गर्दै निलम्बन गरेको हो ।
समितिले शुक्रबारदेखि नै लागु हुने गरी सिंगापुरका सेल्लाडोर विजयकुमार, स्कटल्याण्डका टोम सोल र नाइजेरियाका अबिओडन अबियोलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न निलम्बन गरेको हो । संहिता बमोजिम बलिङको क्रममा खेलाडीको पाखुरा १५ डिग्रीभन्दा माथि खुल्ला गर्न पाइन्न ।
विजयकुमारलाई शुक्रबार स्कटल्याण्ड विरुद्ध, सोललाई शनिबार केन्या विरुद्ध र अबियोलाई सोमबार क्यानडा विरुद्धको खेलको क्रममा म्याच रेफ्रीलाई गुनासो गरिएको थियो । आईसीसीले सोलको बलिङ ‘एक्शन’लाई लिएर यसअघि पनि निलम्बन गरेको थियो । २०१८ को विश्वकप छनोट खेलमा जिम्बाबवे विरुद्धको खेलमा बलिङ ‘एक्शन’मा गुनासो आएको थियो । निलम्बनमा पर्नुभएको सोलले बलिङ ‘एक्शन’मा सुधार गरेपछि आईसीसीले खुला गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?