एजेन्सी
काठमाडौं, कात्तिक १० गते । पपुवान्युगिनी अष्ट्रेलियामा आयोजना हुने विश्वकप टी ट्वान्टी क्रिकेट २०२० को यात्रा सुनिश्चित गरेको छ । यो उसको पहिलो विश्वकप यात्रा हुनेछ ।
समूहगत् चरणको आफ्नो अन्तिम खेलमा केन्यालाई हराएपनि पपुवान्युगिनीलाई स्वतः छनोटका लागि नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको खेलमा निर्भर रहनुपर्यो । नेदरल्याण्ड्सले खेल जितेर समूह ए मा पपुवान्युगिनीसँगै छ खेलबाट सामान दश अङ्क जोडेपनि नेट रन रेटमा पछाडि पर्दा पपुवान्युगिनी स्वतः छनोट भएको हो ।
त्यसैगरी समूह बी बाट आयरल्याण्ड विश्वकप टी ट्वान्टी क्रिकेट २०२० को लागि छनोट भएको छ । छ खेलमध्ये चारमा जित हात पारेको आयरल्याण्डले ओमानलाई नेट रन रेटमा उछिनेर आठ अङ्कसहित अष्ट्रेलियाको यात्रा सुनिश्चित गरेको हो । ओमानले भने प्ले अफ खेल्नुपर्नेछ ।
दुबईमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको पपुवान्युगिनीले १९ रन बनाउँदा छ विकेट गुमाएपछि ऊ प्ले अफका लागि योग्य हुने÷नहुने अवस्था आएको थियो । तर आठौं नम्बरका ब्याट्सम्यान नरमन भनुवाले पपुवान्युगिनीको निराशालाई उत्साहमा बदल्नुभयो । र ४८ बलको सामना गर्दै तीन चौका र दुई छक्काको सहयोगमा ५४ रन बनाएर पपुवान्युगिनीलाई ९६ रनको औसत योगफलसम्म पुर्याउनुभयो । जैसन किला र नौसाना पोकानाले अन्तिम विकेटका लागि २२ रन जोड्दै पपुवान्युगिनीलाई १९ ओभर तीन बलमा ११८ रनको रक्षात्मक योगफलसम्म पुर्याए ।
जवाबमा ब्याटिङ गर्न आएको केन्याले तीन रन जोडदा पहिलो विकेट गुमाएपछि दबाबमा आएको थियो । तर अर्का ओपनर इरफान करीमले संयमित ब्याटिङ गर्दा छैठौं ओभरमा दुई विकेटको क्षतिमा ४० रन जोड्न सफल रह्यो । पपुवान्युगिनीमाथि दबाब बढ्दा अस्साद भालाले मध्यक्रमका तीन ब्याट्सम्यानलाई सस्तोमै पेभेलियन फर्काएर केन्याली इनिंग्स धराशायी पार्नुभयो । नौसाना पकानाले तीन तथा नरमन भनुवा र डेमियन राभुले सामान दुई दुई विकेट बाँडेर केन्यालाई १८.४ ओभरमा मात्र ७३ रनमा समेट्दै पपुवान्युगिनीलाई ४५ रनको जित दिलाउनुभयो । र बाँकी नेदरल्याण्डस र स्कटल्याण्डबीच आइतबारका लागि निर्धारित दोस्रो खेलका लागि छोड्नुभयो ।
अर्को खेलमा नेदरल्याण्ड्सले स्कटल्याण्डमाथि चार विकेटको जित हात पारेपनि नेट रन रेटका आधारमा पपुवान्युगिनीलाई उछिन्न सकेन र विश्वकपको यात्रा तय गर्न उसले प्ले अफका लागि स्थान सुनिश्चित गर्न पुगेको छ ।