हरि कोइराला
बेलबारी(मोरङ),कात्तिक ११ गते ।
धरान फुटबल क्लवलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै ब्वाइज युनियन क्लव काठमाडौलें तेस्रो डाँगीहाट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
स्थानीय डाँगीहाट रङ्गशालामा भएको फाइनल खेलमा ब्वाइज युनियन क्लवका दपन कार्की ह्याट्रिक सहित ४ गोल गर्नुभयो । खेलको प्रारम्भ देखि नै ब्वाइज युनियनले धरानलाई दवावमा राखेको थियो । खेलको दोस्रो मिनेटमा नै गोल गरेर दपनले आफ्नो र व्वाइज यूनियनका लागि खाता खोल्नुभयो । लगत्तै १८ औं मिनेटमा पेटाङ्गनाको पासलाई सदुपयोग गर्दै दपनले अर्को गोल गर्नुभयो ।
पहिलो हाफसम्म २– ० ले पछि परेको धरानलाई ब्वाइज युनियनले दोस्रोहाफमा लगातार ४ गोल प्रहार गर्दै खेल एकतर्फी रुपमा ६–० ले जितेको हो । ४८ औं मिनेटमा पेटाङ्गना कै पासमा दपन कार्कीले लगातार तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्नु भयो । पुरै खेल अवधिभर निरीह भएको धरानले ५० औं मिनेटमा राम्रो अवसर पाए पनि व्वाइज युनियनका गोल रक्षक लक्की कार्कीले धरानका बुद्ध चेम्जोङको प्रहार नियन्त्रणमा लिनुभयो । र धरान निराश हुनुपर्यो ।
ब्वाइज युनियनका मेसोकीले ५५ औं मिनेटमा १ गोल थप्नुभयो । ५ मिनेट पछि दपन कार्कीले ब्यक्तिगत चौथो गोल गर्नुभयो । ६० औं मिनेटमा दपनले गोल गरे लगत्तै ६२ औं मिनेटमा मेसोकीले पुन १ गोल थप्नुभयो ।
फाइनल खेलको म्यान अफ द म्याचको उपाधि ब्वाइज युनियनका कप्तान कमल श्रेष्ठले प्राप्त गर्दै नगद ७ हजार र ट्रफी पाउनु भयो ।
फाइनल जित सँगै ब्वाइज युनियन क्लवले ३ लाख एक हजार १११ रुपियाँ नगद सहित गोल्ड कप उचालेको छ । धरान फुटबल क्लव भने उप विजेता हुँदै दुई लाख एक हजार १११ रुपियाँ र ट्रफि जितेको छ ।
विजेता र उप विजेतालाई प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले पुरस्कार तथा ट्रफि प्रदान गर्नुभयोे । डाँगीहाट फुटबल क्लवले आयोजना गरेको प्रतियोगितामा ८ वटा क्लवले स्पर्धा गरेका थिए ।