ईश्वरचन्द्र झा
काठमाडौं, कात्तिक १२ गते । टी ट्वान्टी विश्वकप क्रिकेटका लागि एशोसिएट राष्ट्रको छनोट प्रकृया अन्तिम चरणमा पुगेको छ । पपुवान्युगिनी र आयरल्याण्ड यसअघि नै पहिलो चरणबाटै विश्वकप टी ट्वान्टी २०२० को लागि स्थान सुनिश्चित गरिसकेको छ । दुबै राष्ट्रले आ आफ्नो समूहमा उत्कृष्ट गर्दै लिग चरणबाटै छनोट हुने अवसर पाएको छ ।
पपुवान्युगिनीले समूह ए मा नेदरल्याण्डसलाई नेट रन रेटमा उछिनेर स्थान पक्का गरेको हो । आयरल्याण्डले सामान अङ्क जोडेको नामिबीयालाई नेट रन रेटमा उछिनेर विश्वकपको यात्रा तय गर्ने भएको हो ।
यसरी हेर्दा हालसम्म टी ट्वान्टी विश्वकप क्रिकेट २०२० को लागि बाह्रवटा टेष्ट मान्यता प्राप्त राष्ट्रमध्ये जिम्बाबवे अतिरिक्त आयरल्याण्ड(छनोट खेलेर) खेल्ने तय भइसकेको छ । एशोसिएटबाटै छनोट खेलमा सहभागी भएर पपुवान्युगिनी समेत समूहको छ खेलमध्ये पाँचमा जित हात पारेर अष्ट्रेलियाको यात्रा सुनिश्चित गरिसकेको छ ।
टी ट्वान्टी विश्वकपमा जमा १६ राष्ट्र सहभागी हुनेछन् । जसमध्ये चार क्वालिफाइङग खेलबाट चार राष्ट्र छनोट हुन बाँकी छ । मंगलबार नै पहिलो प्ले अफ खेलमा नेदरल्याण्ड्सले यूएईसँग स्पर्धा गर्नेछ । दुबै मध्ये जित्ने टोली विश्वकपमा स्थान सुनिश्चित गर्नेछ । पहिलो प्ले अफमा हार बेहोर्ने टोलीले बुधबार स्कटल्याण्ड विरुद्ध तेस्रो प्ले अफका लागि अर्को मौका पाउनेछ । तेस्रो प्ले अफमा जित्ने टोलीले विश्वकपको यात्रा तय गर्नेछ । हार्ने टोली घर फर्किनेछन् ।
त्यसैगरी मंगलबार नै दोस्रो प्ले अफ खेलाइदैछ । जसमा नामिबीयाले ओमानको सामना गर्नेछन् । दुबैबीचको विजेता राष्ट्रले विश्वकपको यात्रा तय गर्नेछ । हार्ने टोलीले चौथो प्ले अफका लागि हङकङसँग स्पर्धा गर्नेछ । हङकङ र दोस्रो प्ले अफ हारेर आउने टोलीबीचको विजेता टी ट्वान्टी विश्वकप क्रिकेट २०२० मा स्थान सुरक्षित बनाउनेछन् । यसरी पपुवान्युगिनी र आयरल्याण्डसँगै एशोसिएट राष्ट्रबाट थप चार टोली गरी टी ट्वान्टी विश्वकप क्रिकेट २०२० मा सहभागी हुने राष्ट्रको समीकरण पुरा हुनेछ ।
टी ट्वान्टी विश्वकप ‘ग्लोबल’छनोट प्रतियोगितामा १४ राष्ट्र सहभागी भएको हो । १४ मध्ये छ राष्ट्र विश्वकप खेल्न छनोट हुनेछ । एशोसिएटमध्येकै नेपाल र अमेरिका क्षेत्रीय छनोट खेलबाटै पराजय बेहोरेर ग्लोबल छनोट खेल्न बञ्चित भयो । नेपाललाई सिंगापुरले र अमेरिकालाई जर्सीले हराएपछि दुबै राष्ट्र निराश भई विश्वकप २०२२ को तयारीमा जुटेको छ । नेपाललाई हराउने सिंगापुर र अमेरिकालाई हराउने जर्सी पनि ग्लोबल छनोटमा राम्रो प्रदर्शन गर्न नसक्दा दुबै राष्ट्रको विश्वकप खेल्ने सपना तुहिन पुगेको छ ।