गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १३ गते । नेदरल्याण्ड्स र नामिबीया टी ट्वान्टी विश्वकप क्रिकेट २०२० को लागि स्थान सुनिश्चित गरेको छ । नेदरल्याण्ड्सले आयोजक यूएईलाई र नामिबीयाले ओमानलाई पराजित गरेर विश्वकपको यात्रा तय गरेको हो ।
विश्वकप क्रिकेट छनोटका लागि आज हुने दुई महत्वपूर्ण खेलबाट दुई थप टोली छनोट हुँदैछ । पहिलो क्वालिफाइङमा हार बेहोरेको यूएई र दोस्रो प्ले अफमा हार बेहोरेको ओमानले अर्को अवसर पाएको छ । यूएईले तेस्रो प्ले अफमा स्कटल्याण्ड विरुद्ध र दोस्रो प्ले अफमा हार बेहोरेको ओमानले चौथो प्ले अफमा हङकङ विरुद्ध खेल्नेछ । दुबैमा जित हात पार्ने टोली विश्वकप टी ट्वान्टी क्रिकेट २०२० को लागि छनोट हुनेछन् ।
यसअघि बुधबार अबेर राति सम्पन्न दोस्रो प्ले अफमा नामिबीयाले ओमानमाथि ५४ रनको उत्कृष्ट जित हात पार्यो । नामिबीयाले २० ओभरमा सात विकेटको क्षतिमा तयार गरेको १६१ रनको उच्च लक्ष्य पछ्याउँदै ओमान १९ ओभर एक बलमा मात्र १०७ रनमा समेटिन पुग्यो । लक्ष्य पछ्याउने क्रममा पहिलो रनमै ओपनर जतिन्दर सिंहलाई गुमाएको ओमानलाई अर्का ओपनर खावर अलीले केही स्थिरता दिन प्रयास गर्नुहुँदै ४१ रनको योगदान दिनुभयो । तर मध्य र पुछारका कुनै पनि ब्याट्सम्यान संयमित पारी खेल्न नसक्दा ओमान हार बेहोर्न बाध्य भयो । नामिबीयाका लागि गर्हाड इरासमस र बर्नहाड सोल्टजले सामान तीन तीन विकेट लिनुभयो ।
यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नामिबीयाले मध्य र पुछारका ब्याट्सम्यानको सुझबुझपूर्ण पारीले उच्च योगफलसम्म पुग्न सफल रहयो । सातौं नम्बरका ब्याट्सम्यान जेजे स्मिटले मात्र २५ बलको सामना गर्दै ५९ रनको उत्कृष्ट पारी खेल्नुभयो । क्रेग विलियम्सले मध्यक्रममा ४५ रनको योगदान गरेर पारीलाई स्थिरत दिने काम गर्नुभयो ।
यसैगरी बुधबार साँझ नै सम्पन्न पहिलो प्ले अफमा नेदरल्याण्ड्सले यूएईमाथि आठ विकेटको भारी अन्तरको जित हात पार्यो । घरेलु समर्थकको साथ पाएपनि यूएईले कमजोर सुरुवात गर्दै मात्र ९ रन जोड्दा उसको पाँचजना ब्याट्सम्यान पेभेलियन फर्किसकेको थियो । अहमद राजाले २२ रनको योगदन गर्नुभएपनि टोलीलाई ठूलो योगफलसम्म पुर्याउन सक्नुभएन । उसले पुरा २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र ८० रन जोडन सक्यो ।
जवाबमा नेदरल्याण्डसले १५ ओभर एक बलमा मात्र दुई विकेटको क्षतिमा ८१ रन बनाएर विश्वकप टी ट्वान्टी क्रिकेट २०२० मा अष्ट्रेलियाको यात्रा तय गरेको छ ।