गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २३ गते । नेपालले मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) विरुद्धको टी ट्वान्टी खेलमा १ सय १३ रनको फराकिलो अन्तरले हार बेहोरेको छ । १ सय ९० रनको विशाल लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमा मात्र ७६ रनमा समेटिदा फराकिलो अन्तरको हार बेहोर्न बाध्य भएको हो ।
विशाल लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरेको नेपालले खेलमा वापसी गर्न सकेनन । दोस्रो ओभरमै आरिफ शेषलाई चार रनको व्यक्तिगत योगफलमा गुमाउन पुगेको नेपालले चौथो ओभरमा कुशल भुर्तेललाई १४ रनमा गुमाउन पुग्यो । अमित श्रेष्ठ खाता खोले लगत्तै एक रनमा पेभेलियन फर्किनुभयो । कप्तान रोहित कुमार पौडेल छ रन बनाउनुभयो । सन्दीप जोरा १६ रनको व्यक्तिगत् योगफलमा आउट हुँदा नेपालको योगफल ७.१ ओभरमा पाँच विकेटको क्षतिमा ४४ रन मात्रै जोडन पाएको थियो । भिम सार्की १३ रनमा बोल्ड हुन पुग्नुभयो । राशिद खान १८ रनमा क्याच आउट हुनुभयो । उहाँले दुई चौका र एक छक्का प्रहार गर्नुभयो ।
मेरिलेबोनका लागि एड योङगले सर्वाधिक तीन तथा ओलिभर डल्बी र क्रिस राइटसले सामान दुई दुई विकेट लिनुभयो ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर व्याटिङ गर्ने निर्णय गरेको पाहुना टोली मेरिलेबोनले २० ओभरमा सात विकेटको क्षतिमा १ सय ८९ रनको उच्च योगफल तयार गर्यो । उसको लागि बिल्ली गोडलम्यानले सर्वाधिक ५४ रनको योगदान दिनुभयो । एड योङले ४२ रन बनाउनुभयो । नेपाली बलिङमा राशिद खान चम्किए । उहाँले चार ओभरको स्पेलमा मात्र २२ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिनुभयो । कमल सिंह ऐरी, जितेन्द्र मुखिया, सुसन भारी र अविनाश बोहोराले सामान एक एक विकेट लिनुभयो ।