logo
२०८१ मंसिर १० सोमवार



पुलिस बाहिरियो, गोल्डकप उपाधिको लागि आर्मी र चर्च ब्वाईज भिड्ने

खेलकुद |


पुलिस बाहिरियो, गोल्डकप उपाधिको लागि आर्मी र चर्च ब्वाईज भिड्ने


लीलाराज झापाली
बिर्तामोड, कात्तिक २३ गते । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो अन्तराष्ट्रिय गोल्डकपको उपाधिका लागि काठमाण्डौको चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लव भिड्ने भएका छन् ।
शनिवार आयोजित दोस्रो सेमीफाइनल खेलमा चर्च ब्वाईजले उपाधिको दाबेदार नेपाल पुलिस क्लबलाई १—० गोल अन्तरले हराएर उपाधिको लागि आर्मीसितको भेट सुनिश्चित गरेको हो । पुलिस क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ । जित सगै चर्च ब्वाइज युनाइटेड जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गदै कम्तीमा ६ लाख २५ हजार नगद सुरक्षित गरेको छ । खेलको २६ औ मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काले गोल गर्दै अग्रता बनाउनुभयो । चर्च ब्वाइजका भुवन बस्नेतको हेडलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले पुस गरी फर्किएको गोललाई खड्काले सटिक प्रहार गर्दै जाली चुमाउनुभएको थियो ।
गोल गर्ने अवसर पाएपनि गोल नहुदा पुलिसको गोल्डकप यात्रा सेमीफाइनलमै रोकिएको हो । खेलको अग्रताको मौका भने पुलिस टिमको रहेको थियो । खेलको २३औँ मिनेटमा पुलिसले पेनाल्टीको अवसर पाएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई तानेर लडाएपछि खेल रेफ्रीले पेनाल्टी दिनुभएको थियो ।
तर, पेनाल्टी सुटमा सुमन लामाको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि पुलिसको दुर्भाग्य सुरुवात भएको थियो । त्यसको ३ मिनेटपछि खेलमा चर्च ब्वाइज अग्रता बनाएको हो ।
खेलको ५४औँ मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईलाई मुख्य निर्णायक प्रकाश श्रेष्ठले रातो कार्ड देखाएर मैदान बाहिर पठाउनुभयो । यो रातो कार्ड प्रतियोगिताकै पहिलो हो ।
दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । दुबै टिमले कैयौंपटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अधिकांश प्रहार गोलमा परिणत हुन सकेन ।
खेलको म्यान अफ दी म्याच चर्च ब्वाईजका सुनिल खड्का हुनुभयो उहाँले १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
१० वटा टिम सहभागी गोल्डकपको फाइनल सोमवार हुने छ । गोल्डकपको विजेताले १२ लाख ५० हजार रुपियाँसहित ट्रफी पाउने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?