एजेन्सी
काठमाडौं, कात्तिक २५ गते । दीपक चाहरको विश्व कीर्तिमानमा भारतले बङ्गलादेश विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा जित हात पारेको छ । जितसँगै भारतले तीन म्याचको टी ट्वान्टी श्रृखंला २–१ ले कब्जा गरेको छ ।
भारतले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा बङ्गलादेशले कमजोर सुरुवात गरेको थियो । १२ रन जोड्दा दुई विकेट गुमाएर बङ्गलादेश दबाबमा आएको थियो । मोहम्मद नईमको ८१ रनको विष्फोटक इनिंग्सले बङ्गलादेश १२ ओभरमा दुई विकेटको क्षतिमा १ सय ६ रनको सहज योगफल जोडन सफल रहयो । मोहम्मद मिथुनले २७ रनको योगदान दिएर उत्कृष्ट साझेदारी गर्नुभयो । जितको लागि आठ ओभरमा मात्र ६९ रन आवश्यक रहँदा भारतीय बलरको उत्कृष्ट वापसीले बङ्लादेश थप ३८ रन जोडन आठ विकेट गुमाउन पुग्दा ऊ १ सय ४४ रनमा समेटियो । भारत ३० रनको जित हात पार्दै श्रृखंलामाथि कब्जा जमायो ।
त्यसअघि नागपुरमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको घरेलु टोली भारतले कमजोर सुरुवात गर्यो । ३५ रनमै रोहित शर्मा र शिखर धवनको रुपमा दुबै ओपनर ब्याट्सम्यानलाई गुमाउन पुगेको भारतले श्रेयस ऐयर र लोकेश राहुलको उत्कृष्ट ब्याटिङको जगमा १ सय ७४ रनको सम्मानजनक योगफलसम्म पुग्न सफल भयो । श्रेयसले मात्र ३३ बलको सामना गर्दै तीन चौका र पाँच छक्काको सहयोगमा ६२ रनको उत्कृष्ट इनिंग्स खेल्नुभयो । लोकेश राहुलले ५२ रनको योगदान दिनुभयो । मनिष पाण्डे २२ रन बनाएर अविजित रहँदा भारतले २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार गर्यो ।
चाहरको विश्व कीर्तिमान
दीपक चाहरले विश्व कीर्तिमान बनाउँदै हयाट्रिक विकेट लिएपछि बङ्गलादेशको इनिंग्स १९ ओभर दुई बलमा मात्र १ सय ४४ रनमा समेटिन पुग्यो । ओपनर लिटन दासलाई ९ रनमा पेभेलियन फर्काएका चाहरले सौम्य सरकारलाई डक आउट गरेर दोस्रो विकेट लिनुभयो । मोहम्मद मिथुन र नईमबीच तेस्रो विकेटको लागि भएको ९८ रनको साझेदारी तोड्दै चाहरले आफ्नो तेस्रो विकेट पुरा गर्नुभयो ।
शफिऊल ईश्लाम, मुस्तफिजुर रहमान र अमिनुल ईश्लामलाई २० औ ओभरको दोस्रो बलमा पेभेलियन फर्काएर तीन विकेट लिएर चाहरले आफ्नो हयाट्रिक विकेट पुरा गर्नुभयो । चाहरले तीन ओभर दुई बलमा मात्र ७ रन खर्चेर छ विकेट लिनुभयो । जुन टी ट्वान्टी स्वरुप अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट बलिङ रहन गयो । यसअघि श्रीलङ्काका लासिथ मलिङ्गाले चार ओभरमा ८ रन खर्चेर छ विकेट लिएर उत्कृष्ट बलिङको कीर्तिमान बनाउनुभएको थियो ।
भारतका लागि शिवम दुबेले तीन विकेट लिनुभयो ।