एजेन्सी
काठमाडौं, कात्तिक २७ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले वेष्टइन्डिजका ब्याट्सम्यान निकोलास पूरनलाई चार टी ट्वान्टी म्याचका लागि प्रतिबन्ध लगाएको छ । बललाई कोट्याएको आरोपमा दोषी ठहर भएपछि पूरनमाथि प्रतिबन्ध लगाइएको हो ।
निकोलास पूरनले आईसीसी संहिताको लेभल तीन तोडेको आरोपमा प्रमाणित भएको छ । म्याच रेफ्री क्रिस बोर्डले प्रस्ताव गरेको प्रतिबन्ध ब्याट्सम्यान निकोलास पूरनले स्वीकार गर्नुभएको छ । उहाँले आगामी दिनमा यस प्रकारको घटना नदोहोरिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिबन्धपछि निकोलास पूरनले अफगानिस्तान विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंलाबाट बाहिरिनुहुनेछ । डिसेम्बर ८ का लागि निर्धारित भारत विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा उहाँ वापसी गर्नुहुनेछ ।
उहाँले आईसीसी संहिताको परिच्छेद २.१४ को उल्लंघन गरेको ठहर गरिएको छ । उहाँमाथि आरोप लगाइएपछि छानबीनको क्रममा भिडियो फुटेजमा बूढी औंलाले बल कोट्याएको प्रष्ट देखिएको छ ।
उहाँमाथि खेलका लागि नियुक्त अम्पायरहरु विश्मील्लाह शिनवारी, अहमद दुर्रानी तथा थर्ड अम्पायर अहमद पक्तिन र चौथो अम्पायर इज्तुल्लाह साफीले उक्त आरोप प्रष्ट्याउनुभएको थियो ।