logo
२०८१ मंसिर ७ शुक्रवार

  समाचार विश्लेषण 



बंगलादेशलाई जित्ने सुत्र, आक्रामक बलिङ र व्याटिङमा सुधार

खेलकुद |


बंगलादेशलाई जित्ने सुत्र, आक्रामक बलिङ र व्याटिङमा सुधार


इश्वरचन्द्र झा
काठमाडौं, मंसिर १ गते । नेपालले एसीसी इमर्जिङ्ग एसिया कपको सेमीफाइनलको लागि स्थान सुनिश्चित गर्न कठीन यात्रा गर्नुपर्ने देखिएको छ । सेमीफाइनलको लागि स्थान सुनिश्चित गर्न बाँकीे एउटा खेल नेपालले जितेर मात्रै पुग्दैन् । भारत र हङकङ विरुद्धको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
के छ सम्भावना ?
नेपालले एसिया कपको दुई खेलमध्ये पहिलो खेलमै भारत विरुद्ध सात विकेटले हार बेहोरेको थियो । लिग चरणमा नेपालले अब एक खेल मात्रै खेल्न बाँकी छ । सोमबार नेपालले बङ्गलादेश विरुद्ध खेल्नेछ । हङकङ विरुद्ध शनिबार जित हात पारे पनि सेमीफाइनलको यात्राको लागि नेपालले तेस्रो तथा अन्तिम खेलमा बङ्गलादेशलाई जित्नैपर्नेछ । र उक्त जितमा मात्रै पनि नेपालको सेमीफाइनलको यात्रा तय हुँदैन ।
भारत र हङकङबीचको खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । भारतले सामान्य अन्तरले पनि हङकङमाथि जित हात पारे नेपाली टोली दबाबमा हुनेछ । नेपालले बङ्गलादेशमाथि ठूलै अन्तरको जित हात पारे सेमीफाइनल पुग्ने सम्भावना बढ्न जान्छ ।
भारतले हङकङमाथि र नेपालले बङ्गलादेशमाथि जित हात पारे बङ्गलादेश, भारत र नेपालको सामान चार चार अङ्क हुनेछ र त्यत्तिबेला नेट रन रेटको सहायतामा सेमीफाइन पुग्ने टोलीको टुंगो लगाइनेछ । भारतले हङकङ विरुद्धको खेल हारेमा नेपालले बङ्गलादेशमाथि जित हात पार्ने अवस्थामा नेपाल स्वतः सेमीफाइनलमा पुग्नेछ । जुन लगभग अप्रत्याशित नै हुनेछ ।
एसीसी इमर्जिङ्ग एसिया कपको दुई विभिन्न खेलमा सहभागी टिमले अप्रत्याशित नतिजा निकाल्न सफल देखियो । समूह ए मा ओमानले श्रीलङ्कामाथि र समूह बी मा बङ्गलादेशले भारतमाथि ६ विकेटको जित हात पार्नु अप्रत्याशित नतिजा नै हो । समूह ए मा रहेको श्रीलङ्का भने अपेक्षाकृत कमजोर टोली हो । पाकिस्तान विरुद्धको खेलमा पनि उसले राम्रो प्रदर्शन गर्न सकेन ।
बङ्गलादेशको प्रदर्शन
बङ्गलादेश प्रतियोगिताको अब्बल टिम मानिएको छ । ओपनर ब्याट्सम्यानको रुपमा बङ्गलादेशको राष्ट्रिय टोलीमा पनि आफ्नो प्रतिभा देखाउनु भएका सौम्य सरकारको उपस्थितिले उसको ब्याटिङ्गलाई थप मजबूत बनाएको छ । सौम्यले भारत विरुद्ध ७३ र हङ्गकङ्ग विरुद्ध ८४ रनको अविजित इनिंग्स खेल्नुभयो । अर्का ओपनर मोहम्मद नईम शेषले पनि हङकङ विरुद्ध अद्र्धशतकीय इनिंग्स खेलेर ओपनर जोडीलाई कमजोर नआँक्न सचेत गराएका छन् । मध्यक्रममा कप्तान नजमुल शान्टो पनि उत्कृष्ट लयमा हुनुहुन्छ ।
बलिङ्गमा मेहदी हसन, तन्वीर आलम र सुमोन खानको तिकडीले भारतीय ब्याट्सम्यानलाई खुलेर खेल्न रोक मात्रै लगाएनन् बरु भारती ब्याट्सम्यानलाई ५० ओभरमा समेटन पनि सफल भयो ।
बङ्गलादेशले नेपाल विरुद्धको खेलमा भारतमाथि जित हात पारेकै टोलीलाई उतार्ने लगभग तय छ ।
ओपनिङ्ग नै नेपालको चिन्ता
नेपाली टोलीमा पनि खासै बदलाव नहुने देखिएको छ । हङकङमाथि ४० रनको जित हात पार्दा नेपालको ब्याटिङ्ग विगत्को भन्दा सुधारिएको प्रदर्शन गर्यो । यद्दपी ओपनर ब्याट्सम्यानद्वय ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलको लय नेपालको लागि चिन्ताको विषय हो ।
भारत विरुद्ध डक आउट हुनु भएका मल्ल, हङकङ विरुद्ध दुइ रन बनाएर पेभेलियन फर्किदा नेपाली प्रशंसकलाई निराश बनाउनुभएको छ । मल्लले कप्तानको जिम्मेवारी पाएपछि उहाँको प्रदर्शन नेतत्वकारी हुन सकेको छैन् । अर्का ओपनर कुशल भुर्तेलले भारत विरुद्ध २८ रन बनाएपनि हङकङ विरुद्ध खाता खोल्दै पेभेलियन फर्किदा नेपाल दबाबमा आएको थियो ।
मध्यक्रमका ब्याट्सम्यान शरद् भेषवाकार उत्कृष्ट लयमा हुनुहुन्छ । भेषवाकारले भारत विरुद्ध ४४ र हङकङ विरुद्ध ८९ रनको इनिंग्स खेल्नुभयो । दिपेन्द्र सिंह ऐरीले भारत विरुद्ध २४ र हङकङ विरुद्ध ३७ रन बनाउनुभएको छ । भारत विरुद्ध ५६ रनको उत्कृष्ट इनिंग्स खेल्नुभएका पवन सर्राफ र विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारीले पुछारमा बङ्गलादेश विरुद्धको खेलमा संघर्षशील योगफल बनाउन राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । मध्यक्रमकै बलमा नेपालले हङकङ समक्ष २ सय १७ रनको योगफल तयार गर्न सफल भयो ।
बलिङ्ग प्रमुख हतियार
नेपालले सशक्त स्पर्धी बङ्गलादेश विरुद्धको खेलमा पहिला ब्याटिङ्ग गर्दा २ सय ५० को हाराहारीमा योगफल बनाउनुपर्ने हुन्छ । अनि मात्रै बलिङ्ग आक्रमणले बङ्गलादेशको ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छ । भारत विरुद्ध २ सय ४६ रनको लक्ष्य सजिलै भेटेको बङ्गलादेशलाई रोक्न नेपालको प्रमुख हतियार नै बलिङ्ग हुने हो । हङकङलाई १ सय ७७ रनमा रोक्न नेपाली बलरहरू करण केसी, सुशन भारी र अविनाश बोहराले उत्कृष्ट प्रदर्शन गर्नुभयो । थोरै रन खर्चेर केसी र बोहराले सामान तीन तीन विकेट लिनुभयो । भारीले दुई विकेट लिनुभयो ।
भारत विरुद्ध विकेटविहीन बन्न पुगेका प्रमुख बलर सोमपाल कामीले हङकङ विरुद्ध अवसर पाउनु भएन । ललित नारायण राजवंशी, करण केसी र सुशन भारी पनि भारतीय ब्याट्सम्यान समक्ष चल्न सकेनन । यद्दपी हङकङलाई रोक्न नेपालले अपनाएको बलिङ्ग आक्रमणको रणनीतिले सफलता पाएकोले बङ्गलादेश विरुद्धको खेलमा नेपाली बलर उच्च आत्मविश्वास लिएर मैदानमा उत्रिनेछन् । ब्याटिङ्गमा हङकङ विरुद्ध २ सय १७ रनको योगफलसम्म पुगेको नेपालले सेमीफाइनलको यात्रा तय गर्न बङ्गलादेश समक्ष ठूलो योगफल तयार गर्नैपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?