गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २ गते । नेपालले बङ्गलादेश समक्ष १ सय ३९ रनको सहज लक्ष्य प्रस्तुत गरेको छ । एसीसी इमर्जिङ्ग टिम एसिया कप अन्तगर्त लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाली ब्याट्सम्यानको फितलो प्रदर्शन जारी रहँदा नेपाल १ सय ३८ रनमा समेटिएको छ ।
टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले ४४.३ ओभरमा मात्र १ सय ३८ रनमा समेटियो । २८ औं ओभरमा ८५ रनमा आठ विकेट गुमाएको नेपालले एक सय रनभित्रै समेटिने अनुमान गरिएको थियो । तर ९ औं विकेटका लागि करण केसी र सोमपाल कामीले अद्र्धशतकीय साझेदारी गर्नुभयो र नेपालको योगफल १ सय ३८ रनसम्म पुर्याउनुभयो । सोमपालले सर्वाधिक ३८ रनको पारी खेल्नुभयो । कमजोर सुरुवात गर्दै आएको नेपाललाई ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलको ओपनर जोडीले ३३ रनको साझेदारी गरेर औसत सुरुवात दिलाउनुभयो । कप्तान मल्ल १० र भुर्तेल २२ रन बनाएर पेभेलियन फर्किदा मध्यक्रम चल्न सकेन । यसअघिको दुबै खेलमा मध्यक्रमले नेपाललाई औसत योगफलसम्म पुर्याउँदै आएको थियो । तर बङ्गलादेशको बलिङ्ग समक्ष मध्यक्रममा शरद भेषवाकार, दिपेन्द्र सिंह ऐरी, मोहम्मद अरिफ शेष, पवन सर्राफ, सुन्दीप जोरा र विनोद भण्डारी टिक्न सेकनन् । भेषवाकार १, ऐरी ६, अरिफ शेष ११, सर्राफ ९, जोरा शुन्य, भण्डारी ८ रनमै पेभेलियन फर्किनुभयो ।
बङ्गलादेशका लागि सुमोन खान र साएद मिनहजुल अबेदिनले सामान तीन तीन तथा मोहम्मद तनवीर इस्लाम र मेहदी हसनले सामान दुई दुई विकेट लिनुभयो ।