logo
२०८१ मंसिर ७ शुक्रवार



एएफसी विश्वकप छनोटमा नेपालले कुवेतको सामना गर्दै

खेलकुद |


एएफसी विश्वकप छनोटमा नेपालले कुवेतको सामना गर्दै


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २ गते । नेपाल मङ्गलबार एएफसी विश्वकप फुटबल छनोटका लागि कुवेतको सामना गर्दैछ । घरेलु मैदानमा खेल्नुपर्ने भएपनि समयमै रंगशालाको पूर्वाधार तयार नहुँदा नेपालले कुवेत विरुद्धको घरेलु खेल ‘न्युट्रल भेन्यु’ भुटानमा खेल्दैछन् ।
पहिलो रोजाइका चार खेलाडी विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ बिना नेपाली फुटबल टोली भुटानको चाङलिमिथाङमा उत्रिनेछ । घर बाहिरको पहिलो खेलमा यी खेलाडी टोलीमा हुँदा कुवेत विरुद्धको खेलमा ७–० ले नेपाली टोली पराजय बेहोरेको थियो । टोली भुटान प्रस्थानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्न प्रतीक्षा गरिरहँदा चारैजना खेलाडीमाथि कारबाहीको जानकारी सार्वजनिक भएको थियो । घोषित २३ सदस्यमध्ये सुवास गुरुङलाई अन्तिम समयमा टिममा राख्दै २० सदस्यीय टोली भुटानको लागि प्रस्थान गरेको थियो ।
छनोटको पहिलो खेलमा भारी अन्तरको हार बेहारेको नेपाली टोली फेरी एकपटक कुवेतको सामना गर्दा जुन आत्मविश्वास दशरथ रंगाशालामा पहिलो रोजाइका खेलाडीसँगै उत्रिदा हुन्थ्यो, पक्कै पनि भुटानमा हुनेछैन् । यद्दपी टोलीका प्रशिक्षक योहान कालिनले प्रि म्याच प्रेस कन्फ्रेसमा कुवेत विरुद्ध पुनरागमनको प्रयास गर्दै कडा चुनौती दिने बताउनुभएको छ । योहानले भन्नुभयो, “उपलब्ध खेलाडीलाई लिएर कडा प्रतिस्पर्धाका लागि तयार छौं ।” कप्तान किरण चेम्जोङले पनि कुवेत विरुद्ध खेल्न पूर्णरुपमा तयार रहेको बताउनुभयो ।
कुवेतका प्रशिक्षक थामोर इनाले समूहको उपविजेता बन्ने लक्ष्यसहित नेपाल विरुद्धको खेलमा पुरा अङ्क बटुल्ने लक्ष्यसाथ उत्रिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल कमजोर टोली होइन, वातावरण पनि नेपाल मिल्दोजुल्दो छ ।”
छनोट चरणमा नेपालले चारवटै ‘अवे’ खेल खेलिसकेको छ । चार खेलबाट नेपालले तीन अङ्क बटुलेर चौथो स्थानमा रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र कुवेत विरुद्धको खेलमा हार बेहोरेको थियो । नेपालले चाइनिज ताइपेइ विरुद्धको खेल जितेर तीन अङ्क बटुलेको हो ।
अष्ट्रेलिया १२ अङ्कसहित पहिलो स्थानमा रहेको छ । ७ अङ्कसहित कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अङ्कविहीन चाइनिज ताइपेइ पुछारमा छन् । नेपाली समय अनुसार खेल अपरान्ह पौने तीन बजे सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?