एजेन्सी
काठमाडौं, मङ्सिर ४ गते । वेल्सले यूरो कप २०२० को लागि स्थान सुरक्षित गरेको छ । आरोन राम्सेले टोलीमा वापसीसँगै गर्नुभएको दुई गोल गर्दा वेल्सले हंगेरीमाथि जित हात पार्दै यूरो कपको लागि छनोट भएको हो ।
समूह इ मा रहेको वेल्सले आठ खेलबाट १४ अङ्क जोड्दै समूह उपविजेता रही छनोट भएको हो । समूह इ बाट क्रोएशिया विजेता भई छनोट भएको छ । क्रोएशिया आठ खेलबाट १७ अङ्क जोडेको छ ।
कार्डिफमा मङ्गलबार राति सम्पन्न खेलको १५ औं मिनेटमा राम्सले ग्यारेथ वेलको पासमा गोल गर्दै वेल्सलाई १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफमा १–० को अग्रता लिएको वेल्सलाई राम्सेले दोस्रो हाफमा थप एक गोल गर्दै अग्रतालाई दोब्बर पार्नुभयो । ४७ औं मिनेटमा उहाँले किफर मोरेको पासलाई गोलमा परिणत गर्नुभयो ।
हंगेरीको हारसँगै उसको यूरो कप २०२० छनोटको सम्भावना सकिएको छ । मङ्गलबार नै सम्पन्न अन्य खेलहरुमा जर्मनीले उत्तरी आयरल्याण्डमाथि ६–१ को जित हात पार्यो । नेदरल्याण्ड्सले इस्टोनियामाथि ५–१, स्लोभाकियाले अजरबैजानलाई २–०, लात्भीयाले अष्ट्रियामाथि १–०, उत्तरी म्यासिडोनियाले इजरायलमाथि १–०, पोल्याण्डले स्लोभानियामाथि ३–२ को जित हात पार्यो । त्यसैगरी, बेल्जियमले साइप्रसमाथि ६–१, सैन मारिनोमाथि रुसले ५–० र स्कटल्याण्डले कजाकिस्तानमाथि ३–१ को जित हात पार्यो ।