logo
२०८१ मंसिर ७ शुक्रवार



भारतलाई तीन रनले हराउँदै पाकिस्तान एसीसी कपको फाइनलमा

खेलकुद |


भारतलाई तीन रनले हराउँदै पाकिस्तान एसीसी कपको फाइनलमा


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ४ गते । पाकिस्तान एसीसी इमर्जिङ्ग टिम एसिया कपको फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले पहिलो सेमीफाइनल खेलमा भारतलाई तीन रनको सामान्य अन्तरले हराउँदै उपाधिको होडमा स्थान सुनिश्चित गरेको छ । पाकिस्तानले बिहीबार हुने बङ्गलादेश र अफगानिस्तानबीचको विजेतासँग उपाधिको लागि शनिबार स्पर्धा गर्नेछ ।
अत्यन्तै रोमाञ्चक स्पर्धामा पाकिस्तानले प्रस्तुत गरेको २ सय ६८ रनको लक्ष्य पछ्याउँदा भारत ८ विकेटको क्षतिमा मात्र २ सय ६४ रनमा खुम्चिन पुग्यो । अन्तिम चार बलमा जितको लागि मात्र ७ रन आवश्यक छँदा भारतीय ब्याट्सम्यानले ल्याउन सकेनन् र प्रतियोगिताबाट बाहिरियो ।

९६ रनको स्थितिमा मात दुई विकेट गुमाएको भारतीय इनिंग्समा अरमान जाफरले सन्वीर सिंहसँग उत्कृष्ट ८३ रनको साझेदारी गरेर बलियो स्थितिमा पुर्याउनुभएको थियो । तर सिंह ७६ रनको व्यक्तिगत् योगफलमा रन आउट भएपछि धरमराएको भारतीय पारी २ सय ६४ रनमा खुम्चिन पुग्यो । जाफरले ४६ तथा ओपनर बेलुर रबि शरथले ४७ रनको योगदान दिनुभयो । चिनमय सुतार २८ रन बनाएर अविजित रहेपनि टिमलाई जित दिलाउन सक्नुभएन ।


पाकिस्तानको बलिङ्गमा मोहम्मद हस्नैन र सैफ बदरले सामान दुई दुई तथा अमाद बट्ट र उमेर खानले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पाकिस्तानले पुरा ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २ सय ६७ रनको सम्मानजनक योगफल तयार गरेको थियो । ओपनर ओमैर युसूफ र हैदर अलि खानले पहिलो विकेटको लागि ९० रनको साझेदारी गर्दा पाकिस्तानले उत्कृष्ट सुरुवात गर्न पुगेको थियो । युसूफले ६६ तथा हैदर अलिले ४३ रनको योगदान दिनुभयो । मध्यक्रममा सैफ बदरले अविजित रहँदै ४७ रनको पारी खेलेर पाकिस्तानलाई सम्मानजनक योगफलसम्म पुर्याउनुभयो ।


भारतका लागि शिवम माभी, सौरभ दुबे र ऋतिक शौकीनले सामान दुई दुई तथा सिद्धार्थ देसाइले एक विकेट लिनुभयो । बदर खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?