सुशील नरसिंह राणा
सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुन गइरहेको दक्षिण एसियास्तरीय खेलकुद महाकुम्भ १३औँ सागलाई एउटा ठूलो अवसरका रूपमा लिएर नेपाल जोडदार तयारीमा जुटेको छ । राष्ट्रको गरिमा र क्षमता प्रदर्शन गर्ने खेलस्थल, अतिथि सत्कार तथा राष्ट्रिय टिमको विशेष तयारी लगायतका कार्यमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेल सङ्घहरू प्राविधिक तथा प्रशासनिक कार्यसम्पादनका लागि अहोरात्र खटिरहेका छन् ।
कुनै पनि बृहत् अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हँुदा राष्ट्रले अन्तर्राष्ट्रियस्तरका भौतिक संरचना निर्माण गर्ने अवसर प्राप्त गर्दछ, जुन राष्ट्रको सम्पत्ति तथा खेलकुदको विकासका लागि दीर्घकालीन आधारशीला बन्न पुग्छन् । नेपाल कसरी १३औँ दक्षिण एसियाली खेलकुद सफल रूपमा आयोजना गर्नका लागि जुटेको छ भन्ने स्पष्ट छ, सबैले होस्टेमा हैँसे गरिरहेका छन् । तर खेलकुद प्रतियोगिताको सफल आयोजना मात्र एक पक्ष हैन, खेलमा राष्ट्रको सफलता जाँच्ने कसी भनेको खेलमा कुन राष्ट्रले कति पदक प्राप्त गरे भन्ने नै हो । यसले उसको ल्याकतको लेखाजोखा हुन्छ ।
छोटो दूरीका धावक जमैकाका युसेन बोल्ट, अमेरिकी पौडीबाज माइकल फेल्प्सलाई संसारले चिन्छ । उनीहरूले आ–आफ्ना विधामा बनाएका विश्व कीर्तिमान तथा उनीहरूले कुन राष्ट्रको प्रतिनिधित्व गर्छन् सबै खेलपे्रमीलाई थाहै छ । तर उनीहरूले आफ्ना कीर्तिमान कुन राष्ट्रले आयोजना गरेको कुन प्रतियोगितामा बनाएका हुन् त भन्ने कुराको हेक्का कमैलाई हुन्छ ।
हाम्रै राष्ट्रिय म्याराथन धावक बैकुण्ठ मानन्धरको कुरा गर्ने हो भने उनको दक्षिण एसियाली खेलकुदमा स्थापित म्याराथनको कीर्तिमानको चर्चा प्रत्येक दक्षिण एसियाली खेलकुदका बेला चुलिने गर्छ तर कुन चाहिँ संस्करण र कुन देशमा आयोजना भएका बेलामा कीर्तिमान भएको हो भन्ने कमैलाई जानकारी रहन्छ । माथि उल्लेखित कुराबाट हामी के कुरा प्रस्ट बुझ्छौँ भने सफल आयोजनाले मात्र नभई राष्ट्रले प्राप्त गर्ने पदक, उपलब्धिले देशको गौरव बढाउन ठूलो भूमिका खेल्छ । यसका लागि राष्ट्रले राष्ट्रिय टिमको तयारीका लागि कस्तो भूमिका खेलेको छ त ? प्रश्न उठ्न सक्छ ।
१३औँ दक्षिण एसियाली खेलकुद आयोजनाको घोषणा तथा जिम्मेवारी लिएसँगै राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय टिमको छनोट तथा तयारीका लागि खेलाडीले अनिवार्य रूपमा गत वैशाखमा प्रदेश नं. ५ मा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुनुपर्ने निर्देशन जारी गरेको थियो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडीहरूलाई काठमाडौँलगायतका ठाउँमा जम्मा गरी गत जेठ १५ गतेदेखि चरणबद्ध रूपमा बन्द प्रशिक्षणको व्यवस्था गर्दै आएको छ ।
विशेष प्रशिक्षणबाट सुरु भएको प्रशिक्षण कार्यक्रम प्रथम चरणमा २७ खेलका एक हजार १९७ खेलाडी समावेश गरी सञ्चालन भयो । बन्द प्रशिक्षण दोस्रो र तेस्रो हँुदै अन्तिम चरणको छनोटपछि छ सय ४४ जनामा सीमित रहने छ । राष्ट्रिय खेलकुद परिषद्को निर्देशनमा राष्ट्रिय टिम तयारी समितिले खेलाडीको बसोबास, खाना, स्वास्थ्य, खेल सामग्री, खेल स्थल, प्रशिक्षण, अनुगमन तथा विविध विषयमा विज्ञहरूद्वारा विज्ञानसम्मत खेल मनोविज्ञान तथा प्रशिक्षण तालिमसम्बन्धी कक्षाको व्यवस्था गर्दै
आएको छ ।
यसैगरी आवश्यकता अनुसार विदेशी प्रशिक्षकको व्यवस्था, वैदेशिक तालिम, वैदेशिक प्रतियोगितामा सहभागिता तथा वैदेशिक प्रशिक्षण समेतको व्यवस्था गरिएको छ । यहाँ प्रश्न उठ्न सक्छ । यति लगानीबाट खेलाडीहरूले राष्ट्रले आशा गरेबमोजिमको पदक प्राप्त गर्लान् त ? राष्ट्रिय खेलकुद परिषद्ले मात्र राष्ट्रिय टिम तयारीमा योगदान दिँदैमा नतिजामा व्यापक परिवर्तन आउने पक्कै हैन । १३आँै दक्षिण एसियाली खेलकुदमा खेलाइने २७ खेलसँग सम्बन्धित २७ वटै राष्ट्रिय खेल सङ्घको पनि यसमा ठूलो भूमिका हुनु अति आवश्यक छ । १३आँै दक्षिण एसियाली खेलकुद राष्ट्रिय सङ्घहरूका लागि पनि ठूलो परीक्षाको घडी हो ।
राष्ट्रिय खेलकुद परिषद्को भरमा मात्र नपरी राष्ट्रिय खेल सङ्घहरूले आफ्ना खेलको विकासका लागि दीर्घकालीन योजनाका साथ नियमित प्रशिक्षण, प्रतियोगिता, मूल्याङ्कन तथा दक्ष प्राविधिक उत्पादनमा महìवपूर्ण भूमिका निर्वाह गर्दै विभिन्न चरणमा खेलाडीहरूलाई विज्ञानसम्मत प्रशिक्षण गराउँदै उनीहरूको स्तरोन्नति गराउनुपर्छ । यस्तो गरिएमा मात्र राष्ट्रिय टिम तयारीमा सञ्चालित विशेष प्रशिक्षणबाट बढीभन्दा बढी खेल र खेलाडीबाट उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिन्छ ।
युवामञ्च मङ्सिर २०७६