१३औँ सागका विषयमा कुरा गर्दा हामीले आफूले पाएको जिम्मेवारी कसरी निर्वाह गर्दै छौँ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । भारतमा १२औँ साग सम्पन्न भएर नेपालले १३औँ सागको झण्डा बोक्यो, ठूलो जिम्मेवारी हामीले पायौँ तर त्यसका लागि जसरी तयारी अगाडि बढ्नुपर्ने थियो त्यसरी भएन, तयारीले गति लिएन । यसैले हाम्रा अगाडि अनेक चुनौती छन् । हामीले यो स्वीकार्नु पर्छ ।
वर्तमान सरकार गठन भएसँगै १३औँ साग आयोजना गर्ने जिम्मेवारीलाई राष्ट्रिय प्रतिष्ठासँग जोडेर हेरिएको छ र यसलाई सफलतापूर्वक सम्पन्न गराउनु हाम्रो अभिभारा पनि हो । सरकारले यसलाई प्राथमिकतामा राखेको छ र त्यसैअनुसार काम भइरहेका छन् ।
सागका लागि यहाँ जति पनि काम भएको छ डेढ वर्षयता भएको छ । पूर्वाधार निर्माणका काम हामीले सुरु ग¥यौँ । शून्यबाट नै सुरु भएको मान्नु पर्छ । प्रतियोगिताको उद्घाटन र समापन स्थलको पुनर्निर्माण कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ । यस रङ्गशालाको अवस्था त देखिहाल्नुभयो, अब केही दिन मात्र हो काम सकाउन ।
छोटो अवधिमा सबै काम सकेर साग आयोजना सम्पन्न गर्नु अत्यन्त चुनौतीपूर्ण अवस्था हो तर यो अवसर पनि हो । यसमा सरकारले तलमाथि हुन दिने छैन । जुन गतिमा काम अगाडि बढिरहेको छ, त्यस हिसाबमा हामी भन्न सक्छौँ मङ्सिरको पहिलो हप्ता पूर्वाधार निर्माणका कार्य सकिने छन् । अब नेपालमा प्रतियोगिता आयोजना हुने र नेपाली खेलाडीको प्रदर्शनको कुरा नआउने कुरै भएन । यसको पनि हामीले ठूलो तयारी गरेका छौँ । विगतको गौरव पनि हामीले हेर्नुपर्छ । आफैँले आयोजना गरेको आठौँ सागमा हामी दोस्रो भयौँ र यसपटक पनि पदक तालिकामा हाम्रो स्थान बलियो हुनै पर्छ । यसमा चुनौती पनि छ ।
गत वर्ष इन्डोनेसियाको जकार्तामा सम्पन्न १८औँ एसियाडमा सहभागी भएका दक्षिण एसियाली राष्ट्रहरूसँग तुलना गर्दा पदक जितका हिसाबले हामी दोस्रो थियौँ । यसैले विगतका उपलब्धि र विरासत हामीले कायम गर्नु पनि हामीलाई चुनौती छ ।
१३औँ सागका लागि हामीले रणनीति अपनायौँ । एसियाडमा देखाइएको प्रदर्शन तथा गत वैशाखमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीहरूको प्रदर्शनलाई हामीले मुख्य आधार मानेर १३औँ सागको तयारी रणनीतिक रूपमा ग¥यौँ ।
राष्ट्रिय प्रतियोगितामा पूर्वाधार व्यवस्थाको चुनौती थियो, त्यो काम हामीले सकायौँ र प्रतियोगिता सफल बनायौँ । प्रतियोगिता आयोजना र खेलाडी तयारी दुवैका लागि हामीलाई एसियाड र राष्ट्रिय खेलकुद प्रतियोगिताको अनुभवले सहयोग गरिहेको छ । यसैले सागमा खेल प्रदर्शनका लागि हामी एक वर्षदेखि तयारीमा छौँ । प्रतियोगितामा सकारात्मक प्रतिफल पाइने आशा गरौँ ।
प्रतियोगिता आयोजना र व्यवस्थापनका लागि मितव्ययी र पारदर्शिता अपनाइएको छ । प्रतियोगिता भव्य र सभ्य अनि प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि बजेटको कुनै कमी हुन नदिने गरी सरकारको साथ छ । यो सरकारको सङ्कल्प पनि हो । करिब साढे तीन अर्ब बजेट यसका लागि छुट्याइएको छ ।
नेपालको खेलकुदलाई प्रकृतिले एउटा विशिष्ट क्षमता दिएको छ । खेलकुदलाई नयाँ भौगोलिक अनुकूलता छ । हिमाल, पहाड, तराईको हावापानी यहाँ छ । संसारमा खेलिने सबै खेल यहाँ खेल्न सकिन्छ ।
साथै नेपाल खेलकुदका लागि एउटा तटस्थ भूमि पनि हो । यी अनुकूलतालाई चिनेर बुझेर खेलका लागि चाहिने भौतिक पूर्वाधार तयार पारी संसारलाई आकर्षित गर्न सकिन्छ । जसको सोझो सम्बन्ध पर्यटन क्षेत्रसँग छ । हामी खेल पर्यटन प्रवद्र्धन गर्न सक्छौँ । हाम्रो समृद्धिको मुख्य आधार खेल पर्यटन बन्न सक्छ ।
यसैले खेलकुद र पर्यटन आपसमा अन्तर्निहित विषय हुन् । पर्यटन वर्षलाई पनि ध्यानमा राखेर देशलाई लाभ हुने गरी यस प्रतियोगितालाई हामीले रणनीतिक रूपमा पनि हेरेका छौँ ।
– उमेश ओझा र शरदराज सुवेदी
युवामञ्च मङ्सिर २०७६