रमेश खनाल
ऐतिहासिक पृष्ठभूमि :
दक्षिणपूर्वी एसिया र मध्यपश्चिम एसियामा धेरै अगाडिदेखि ओलम्पिक शैलीका खेल आयोजना हुँदै आएका थिए । जापान, उत्तर–दक्षिण कोरिया, चीनलगायत पूर्वी एसियालाई समेट्ने गरी सङ्गठित रूपमा ओलम्पिक शैलीको बृहत् खेलकुद प्रतियोगिता आजका मितिसम्म आयोजना हुन सकेकै छैन । दक्षिण एसियाको अवस्था पनि लगभग ४० वर्ष पहिलेसम्म त्यस्तै थियो ।
दक्षिण एसियामा पनि ओलम्पिक शैलीको खेलकुद प्रतियोगिता आवश्यक रहेको कुरा धेरै पहिले उठ्यो । त्यस्तो बृहत् खेलकुद आयोजना गर्ने सम्भावनाबारे प्रारम्भिक कुरा तेहरानमा सन् १९७४ मा भएको एसियाली खेलकुदका अवसरमा उठेको थियो । कुरो उठ्ने फेरि सेलाउने क्रम जारी रह्यो । तर त्यसको करिब १० वर्षपछि सन् १९८१ मा दक्षिण एसियाली खेलकुद महासङ्घको स्थापना भएर सन् १९८४ देखि साफ खेलकुदका नामबाट दक्षिण एसियाली खेलकुद प्रतियोगिताको विधिवत् सुरुआत भयो ।
सन् १९८१, सेप्टेबर २८ का दिन पश्चिम जर्मनीको वाडेन वाडेनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको एघारौँ बैठकको अवसर पारेर नेपाल, भारत, श्रीलङ्का र पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्षहरूको संयुक्त बैठक र सर्वसम्मतिबाट ‘दक्षिण एसियाली खेलकुद महासङ्घ’ स्थापना गर्ने सहमति भएको थियो ।
त्यसको तीन महिनापछि अर्थात् सन् १९८१, नोभेम्बर २६ मा भारतीय ओलम्पिक एसोसिएसनका अध्यक्ष राजा भालेन्द्र सिंहको अध्यक्षतामा नयाँ दिल्लीमा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशको ओलम्पिक कमिटीका अध्यक्ष बसेर ‘दक्षिण एसियाली खेलकुद महासङ्घ’ स्थापना गरे । जसमा भुटान, माल्दिभ्स र अफगानिस्तानलाई पनि सदस्य राष्ट्रका रूपमा सम्मिलित गराउने निर्णय भएको थियो । सोही बैठकले उक्त महासङ्घको विधान बनाउने जिम्मा नेपाललाई सुम्प्यो र महासङ्घको उद्देश्य निर्धारण ग¥यो । जसअनुसार आठवटै दक्षिण एसियाली राष्ट्रमा खेलकुदको माध्यमबाट शान्ति स्थापना गर्ने, खेलकुदका भौतिक पूर्वाधारको विकास गर्ने, असमान खेल स्तरलाई बढाउने होइन कि घटाउन एक अर्कालाई सहयोग गर्ने, गराउने जस्ता उद्देश्य समावेश छन् ।
यसैगरी त्यसमा दक्षिण एसियाली खेलकुदलाई वर्णानुक्रम अनुसार सदस्य राष्ट्रहरूले आयोजना गर्ने प्रावधान पनि राखिएको छ ।
प्रथम साग खेल
महासङ्घलाई मूर्त रूप दिनुपर्ने आवश्यकता महसुस हुनासाथ सदस्य राष्ट्रहरूको बैठक सन् १९८२, डिसेम्बर ५ मा नवौँ एसियाली खेलकुदका अवसर पारेर नयाँ दिल्लीमा बस्यो । उक्त बैठक बङ्गलादेश ओलम्पिक एसोसिएसनका अध्यक्ष क्याप्टेन अहमद सिद्धिकीको अध्यक्षतामा बसेको थियो । त्यस बैठकले प्रथम दक्षिण एसियाली खेलकुद सन् १९८३, मार्च–अप्रिलमा बङ्गलादेशको राजधानी ढाकामा आयोजना गर्ने निर्णय ग¥यो ।
ढाकाले प्रथम दक्षिण एसियाली खेलकुद आयोजना गर्ने समाचारले आठवटै राष्ट्रमा खुसियाली छायो । खेलाडी, व्यवस्थापक र सङ्घहरू सबै आ–आफ्नो खेलका बारेमा सोच्न लागे । प्रथम दक्षिण एसियाली खेलकुद आयोजना गर्ने सम्बन्धमा सन् १९८३, फेब्रुअरी १० मा काठमाडौँको सोल्टी होटलमा सात राष्ट्रका प्रतिनिधिले बसेर सन् १९८३, मार्च ३१ का दिन प्रथम दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरे तथा अर्को बैठक ढाकामा यथाशीघ्र बस्ने र खेलहरू टुङ्गो लगाउने सहमतिमा बैठक टुङ्गियो ।
जसरी दक्षिणपूर्वी एसियाका थाइल्यान्ड, बर्मा, फिलिपिन्स, भियतनाम, मलेसिया, सिङ्गापुरमा ‘सि–गेम्स’ आयोजना हुन्थ्यो ठीक त्यसरी नै ‘साफ गेम्स’ सुरु हुन लागेकोमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, एसियन ओलम्पिक कान्सिलले समेत खुसी प्रकट गर्दै बधाई दिएका थिए ।
तर साग खेल आयोजनाको थालनी सोचे जसरी भएन । बङ्गलादेशले आफ्ना केही प्राविधिक कठिनाइ जनाएर प्रथम दक्षिण एसियाली खेलकुद आयोजना गर्न नसक्ने बतायो । यो कुरा सार्वजनिक हुनासाथ सातवटै राष्ट्रको ओलम्पिक कमिटीका अध्यक्षको आपतकालीन बैठक कुबेतमा बस्यो । सन् १९८३, नोभेम्बर ५ का दिन ओलम्पिक काउन्सिल अफ एसियाको बैठकको अवसर पारेर सागको बैठक बसी प्रथम साग भारतलाई आयोजना गर्न दिने प्रस्ताव गरियो । तर भारतले कमनवेल्थ गेम्सको कारण देखाएर आयोजना गर्न असमर्थता जनायो ।
त्यसपछि उक्त बैठकले प्रथम साग आयोजना गरेर इतिहास रच्ने शुभअवसर नेपाललाई प्रस्ताव ग¥यो । केहीबेरको मन्थनपछि थोरै खेल अर्थात् पाँच खेल समावेश गरेर साग सन् १९८४, सेप्टेम्बर १७ मा आयोजना गर्न नेपाल तयार भयो । सागका परिकल्पनाकार शरदचन्द्र शाहले नेपाल ओलम्पिक कमिटी अध्यक्षको हैसियतबाट सो बैठकको अध्यक्षता गरेका थिए ।
दक्षिण एसियाली खेलकुद महासङ्घबाट
ओलम्पिक काउन्सिल, साफबाट साग
सम्पूर्ण खेलकुद गतिविधि ओलम्पिक अभियानअन्तर्गत सञ्चालन हुने गरेकाले सागको नाम परिवर्तन गरी दक्षिण एसिया गेम्स (साग) र महासङ्घको नाम दक्षिण एसियाली ओलम्पिक काउन्सिल राख्ने निर्णय सन् २००४ मा बसेको ३२औँ बैठकमा भयो । जुन बैठकले ११औँ साग ढाकामा, १२औँ (सन् २०१३) नयाँ दिल्लीमा (यो सन् २०१३ मा नभएर २०१६ को फेब्रुअरी ५ देखि गोहाटी र सिलोङमा आयोजना भयो), सन् २०१४ मा १३औँ साग काठमाडौँमा तथा सन् २०१६ मा इस्लामावादमा १४औँ साग आयोजना गर्ने निर्णय गरेको थियो तर सागसम्बन्धी सबै निर्णय ठीक समयमा कार्यान्वयन हुन सकेका छैनन् ।
यसैगरी उक्त बैठकले साउथ एसियन बीच गेम्स र विन्टर गेम्सहरू पनि आयोजना सुरु गर्ने निर्णय गरेअनुसार नै ती खेल आयोजना भइरहेका छन् । साग गेम्स आयोजना अनियमित भए पनि सञ्चालन चाहिँ भइरहेका छन् । नियमित समयमा नहुनु यसको समस्या हो । साथै स्तर वृद्धि, भौतिक पूर्वाधार निर्माणमा सहयोग, खेलकुद, कार्यशाला, प्रतिभाशाली खेलाडीलाई तालिम, प्रशिक्षण र व्यवस्थापकहरूका लागि रिफ्रेसर कोर्सका सम्बन्धमा सम्बन्धित राष्ट्रिय ओलम्पिक कमिटीले जोडदार आवाज उठाउने बेला भइसकेको छ ।
त्यसैगरी सागको सचिवालय नेपालमा स्थापना गर्ने भन्ने निर्णय पनि पारित भइसकेको हुँदा त्यसलाई मूर्तता दिनेतर्फ हाम्रो प्रयास हुन आवश्यक छ ।
यो त सत्य नै हो नेपालकै अथक प्रयासमा दक्षिण एसियामा साग सुरु भयो । प्रथम सागदेखि १२औँ सागसम्म पदक स्थान तालिकामा भारत नै प्रथम छ । जुन उद्देश्य लिएर साग सुरु भयो के ती उद्देश्य पूरा
भए ? यदि ती उद्देश्य पूरा नभएका भए तिनलाई पूरा गर्न ओलम्पिक काउन्सिलले के प्रयास ग¥यो ? यिनै तमाम प्रश्नका अगाडि नेपालको स्वर्ण पदक स्थिति र प्राप्त स्थान त्यति सन्तोषजनक छैन ।
प्रतियोगितामा स्वर्ण पदक नै मुख्य ठानिन्छ । नेपाललाई रजत र काँस्य पदक होइन स्वर्ण पदकको खाँचो छ । स्वर्ण पदक जित्नु कठिन छ । प्रतिद्वन्द्वी राष्ट्रहरूको तयारी राम्रो छ ।
सागलाई लक्ष्य बनाएर भन्दा एसियन गेम्सलाई लक्ष्य बनाएर उनीहरू प्रशिक्षण सुरु गर्छन् । उनीहरूलाई त साग ट्रान्जिट प्रतियोगिता हुन्छ । अतः अरू मुलुकलाई उछिन्नका लागि नेपालले वैज्ञानिक, व्यवस्थित, आधुनिक प्रशिक्षणमाथि जोड दिनुपर्छ, लक्ष्य ठूलो राखेर ठूलै प्रतियोगितामा केन्द्रित रहनुपर्छ ।
आधुनिक प्रशिक्षणअन्तर्गत ओलम्पिक खेल स्थल, सामग्रीको स्तरीयता, प्रतिभावान् खेलाडी छनोट, दक्ष प्रशिक्षक, उच्चस्तरीय प्रशिक्षण, स्तरयुक्त मेडिकल सुविधा (मसाजसहित), खेल मनोविज्ञान, स्तरीय आहारा, सुविधासम्पन्न स्थानमा विश्रामको व्यवस्था, मनोरञ्जन व्यवस्थापन, नतिजामूलक कार्य, लक्ष्य भेट्ने प्रशिक्षण योजना, मूल्याङ्कन, अनुभव व्यवस्था, अन्तर्राष्ट्रिय सहभागिता आदि पर्दछन् । उपरोक्त सबै सुविधाभित्र अनुशासन सर्वोपरि हुन्छ । सार्क राष्ट्रभरि सन्तुलित खेलहरू विकास गर्नेतर्फ दक्षिण एसियाली ओलम्पिक काउन्सिलको ध्यान जानुपर्छ । खेलकुदको माध्यमबाट शान्ति स्थापना गर्ने, खेलकुदका भौतिक पूर्वाधारको विकास गर्ने, खेलकुद प्रशिक्षण कार्यशाला आदिको व्यवस्था गर्ने उद्देश्य लिएर स्थापना भएको काउन्सिल सक्रिय हुनुपर्छ ।
आजसम्म १२औँ संस्करण आयोजना भइसक्दा पनि कुनै राष्ट्र एउटा स्वर्ण पदक प्राप्त गर्न नसक्ने र कुनै राष्ट्र धेरै भन्दा धेरै स्वर्ण पदक जितेर सधैँ अगाडि रहने गरेको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलले साना राष्ट्रलाई आफ्नो खेल स्तर बढाउन मद्दत गर्नुपर्छ । ठूला राष्ट्रले खेलकुदका भौतिक पूर्वाधार बनाउन मद्दत गर्नुपर्ने आवश्यकता पनि छ । खेलमा देखिएको विकराल असमानता घटाउँदै लैजानुपर्छ । साना राष्ट्रलाई थोरै खेल राखेर साग आयोजना गर्ने अवसर आवश्यक देखिन्छ ।
युवामञ्च मङ्सिर २०७६