एजेन्सी
काठमाडौं, मङ्सिर ५ गते । बङ्गलादेश एसीसी इमर्जिङ्ग टिम्स एसिया कप २०१९ को फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमीफाइनल खेलमा अफगानिस्तानमाथि सात विकेटको जित हात पार्दै बङ्गलादेश फाइनलमा पाकिस्तानसँगको भेट सुनिश्चित गरेको हो ।
अफगानिस्तानले प्रस्तुत गरेको २ सय २९ रनको लक्ष्य घरेलु टोली बङ्गलादेशले ३९ ओभर ५ बलमा मात्र ३ विकेटको क्षतिमा पुरा गरेको छ । बङ्गलादेशको जितमा ओपनर सौम्य सरकारले ६१ रनको उत्कृष्ट पारी खेल्नुभयो । अर्का ओपनर नईम शेष मात्र १७ रन बनाएर पेभेलियन फर्किनुभयो । कप्तान समेत रहनुभएका नज्मुल शान्टो ५९ रन बनाउनुभयो । सौम्य सरकारले शान्टोसँग दोस्रो विकेटका लागि १ सय ७ रनको महत्वपूर्ण साझेदारी गर्नुभयो । यासिर अली चौधरी ३८ तथा अफिफ होस्सैन ध्रुबो ४५ रन बनाएर अविजित रहनुभयो । दुबैजना बीच चौथो विकेटको लागि ७५ रनको साझेदारी भयो । अफगानिस्तानको बलिङ्गमा अज्मतुल्लाह ओमरजैले एक तथा अब्दुल वासी नुरीले दुई विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको अफगानिस्ताले पुरा ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय २८ रनको औसत योगफल तयार गरेको थियो । २२ रनमै ओपनर दुबै ब्याट्सम्यान अब्दुल मल्लिक हुस्सैन खैल र शहीदुल्लाह कमलको विकेट झरेपछि दबाबमा आएको अफगानिस्तालाई दरविश अब्दुल रसुलले उत्कृष्ट शतकीय इनिंग्स खेलेर दबाबमुक्त बनाउनुभयो । उहाँले १ सय २८ बलको सामना गर्दै सात चौका र सात छक्काको सहयोगमा १ सय १४ रनको योगदान दिनुभयो । मध्यक्रममा लगालग विकेट खसेपछि पुछारका ब्याट्सम्यानहरु सैयद वहिदुल्लाह शफिकले ३४ र तरिक तेनिक्जैले ३३ रनको योगदान दिएर अफगानिस्तानलाई औसत योगफलसम्म पुर्याउनुभयो । सातौं विकेटका लागि दुबैजना बीच भएको ८६ रनको साझेदारी अफगान इनिंग्सको सबैभन्दा ठूलो साझेदारी रहयो ।
अफगानिस्तानलाई औसत योगफलमै रोक्न बङ्गलादेशका हसन महमुद र सौम्य सरकारले सामान तीन तीन तथा तन्वीर आलमले दुई विकेट लिनुभयो ।