logo
२०८१ मंसिर ७ शुक्रवार



टेष्ट खेलमा गुलाबी बलको प्रयोग, बङ्गलादेश १ सय ६ रनमा समेटियो

खेलकुद |


टेष्ट खेलमा गुलाबी बलको प्रयोग, बङ्गलादेश १ सय ६ रनमा समेटियो


एजेन्सी
काठमाडौं, मङ्सिर ६ गते । भारत विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो पारीमा बङ्गलादेश १ सय ६ रनको झिनो योगफलमा समेटिएको छ । जवाबमा पहिलो दिन नै ब्याटिङ्ग सुरु गरेको भारतले कमजोर सुरुवातका बावजूद बलियो अवस्थामा पुगेको छ ।
दक्षिण एसियाली दुबै राष्ट्र गुलाबी बलले पहिलो पटक टेष्ट म्याच खेल्दैछ । पहिलो पटक टेष्ट म्याचमा ‘डे नाइट’ खेलको अभ्यास गर्दा भारतले पहिलो दिनको खेल जारी रहँदा शुक्रबार अबेरसम्म मात्र तीन विकेटको क्षतिमा १ सय ४४ रन बनाएको छ । पहिलो पारीमा भारत ३८ रनको अग्रता लिएको छ । भारतका लागि कप्तान विराट कोहली ५० र अजिन्क्यै रहानेले तीन रन बनाएर ब्याटिङ्ग गर्दैछन् । चेतेश्वर पूजारा ५५ रन बनाएर पेभेलियन फर्किनुभयो । रोहित शर्माले २१ तथा मयन्क अग्रवालले १४ रन बनाउनुभयो ।
बङ्गलादेशका लागि अल अमिन होस्सैन र इबादत होस्सैनले सामान एक विकेट लिनुभयो ।
त्यसअघि भारतको कलकत्तामा टस जितेर पहिला ब्याटिङ्ग गरेको बङ्गलादेशले पहिलो पारीमा मात्र १ सय ६ रनमा समेटियो । बङ्गलादेशका आठ जना ब्याट्सम्यानले दोहोरा स्कोर छुन सकेनन् । कप्तान मोमिनुल हक, मुश्फीक्र रहिम, मोहम्मद मिथुन र अबु जाएदले खाता समेत खोल्न सकेनन् । ओपनर सदनाम इश्लामले बनाउनुभएको २९ रन नै बङ्गलादेशको लागि सर्वाधिक व्यक्तिगत् योगफल रहन गयो । लिटोन दास २४ रनमा ‘रिटायर्ड हर्ट’ हुनुभयो । नइम हसन १९ रन बनाउनुभयो ।
भारतका लागि इशान्त शर्माले घातक बलिङ्ग गर्नुभयो । उहाँले १२ ओभर बलिङ्ग गर्दा पाँच विकेट लिनुभयो । उमेश यादबले तीन तथा मोहम्मद सामीले दुई विकेट लिनुभयो । पहिलो टेष्ट खेलमा भारत तेस्रो दिनमै एक इनिंग्स र १ सय ३० रनको भारी अन्तरले जित हात पारेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?