logo
२०८१ मंसिर ७ शुक्रवार



साग क्रिकेटमा भारत र पाकिस्तान नखेल्ने, नेपालले पहिलो खेलमा श्रीलङ्काको सामना गर्ने

खेलकुद |


साग क्रिकेटमा भारत र पाकिस्तान नखेल्ने, नेपालले पहिलो खेलमा श्रीलङ्काको सामना गर्ने
तस्विर : फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ७ गते । तेह्रौं दक्षिण एसियाली खेलकूद(साग)मा पुरुष टी टवान्टी क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ । साग पुरुष क्रिकेट प्रतियोगितामा दुई बलिया राष्ट्र भारत र पाकिस्तान अनुपस्थित हुने भएको छ ।
घोषित खेल तालिका बमोजिम साग पुरुष टी ट्वान्टी प्रतियोगितामा नेपाल, बङ्गलादेश, श्रीलङ्का, मल्दिभ्स र भुटानले सहभागिता जनाउनेछ । बङ्गलादेश र श्रीलङ्कको यू २३ टोली सागमा स्पर्धा गर्नेछन् । नेपाल, भुटान र मल्दिभ्सको सिनियर टोली नै स्पर्धा गर्नेछन् ।
प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले चार चार वटा म्याच खेल्नेछन् । शिर्ष स्थानमा रहने दुई टोली एकैपटक उपाधिको लागि मङ्सिर २४ गते त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा स्पर्धा गर्नेछ ।
साग क्रिकेट अन्तगर्त पुरुष स्पर्धाका जम्मै खेलहरु त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमै खेलाइनेछ । खेल तालिका बमोजिम पुरुष टी ट्वान्टीको पहिलो खेलमा नेपालले श्रीलङ्काको सामना गर्नेछ । उक्त खेल मङ्सिर १७ गते मंगलबार त्रिवि क्रिकेट रङ्गशालामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
त्यसैगरी मङ्सिर १८ गते बिहान ९ बजे बङ्गलादेशको यू–२३ टोलीले मल्दिभ्सको सामना गर्नेछ । उक्त दिन नै साग क्रिकेटको अर्को खेलमा एक बजेदेखि श्रीलङ्काले भुटानको सामना गर्नेछ ।
त्यसैगरी मङ्सिर १९ गते नेपालले आफ्नो दोस्रो खेलमा भुटानको सामना गर्नेछ । सोही दिन श्रीलङ्काले मल्दिभ्सको सामना गर्ने तय गरिएको छ । मङ्सिर २० गते भुटानले बङ्गलादेश तथा मल्दिभ्स र नेपालबीच स्पर्धा हुनेछ ।
मङ्सिर २१ गते शनिबार नेपालले आफ्नो चौथो खेलमा बङ्गलादेशको सामना गर्नेछ । मङ्सिर २२ गते आइतबार बङ्गलादेशले श्रीलङ्का र मल्दिभ्सले भुटानसँग खेल्नेछन् । मङ्सिर २३ गते तेस्रो स्थानको लागि लिग चरणमा तेस्रो र चौथो स्थान प्राप्त गर्ने दुई टोलीबीच स्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?