गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ७ गते । तेह्रौं दक्षिण एसियाली खेलकूद(साग)को महिला क्रिकेट प्रतियोगितामा चार राष्ट्रले मात्रै सहभागिता जनाउने भएको छ । सागका लागि सार्वजनिक गरिएको तालिका बमोजिम नेपाल, मल्दिभ्स र टेष्ट क्रिकेटको मान्यता प्राप्त राष्ट्रहरु बङ्गलादेश र श्रीलङ्काको महिला टोलीले मात्रै स्पर्धा गर्ने भएको छ ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार सबै खेलहरु पोखरा रङ्गशालामा हुनेछ । सागको महिला फुटबलमा पनि चार राष्ट्र मात्रै सहभागी हुनेछ । चारै टोलीले लिग चरणमा तीन तीन म्याच खेल्नेछन् । उत्कृष्ट हुने दुई टोली उपाधिको लागि स्पर्धा गर्नेछन् । त्यसैगरी तेस्रो र चौथो हुने दुई टोलीले तेस्रो स्थानको लागि स्पर्धा गर्नेछन् ।
फुटबलमा सहभागी हुने भारतले महिला क्रिकेटमा सभागी हुने छैन् । साग फुटबलमा बङ्गलादेशको महिला टोली हुने छैन् । बाँकीको तीन राष्ट्र नेपाल, मल्दिभ्स र श्रीलङ्काले भने फुटबल र क्रिकेट दुबैमा महिला टोली उतार्नेछ । पाकिस्तान भने फुटबल र क्रिकेट दुबैमा सहभागी हुने छैन् । भुटानले पनि महिला फुटबल र क्रिकेटमा आफ्नो टोली स्पर्धा नगराउने भएको छ ।
खेल तालिका बमोजिम नेपाली महिला टोलीले मङ्सिर १६ गते आफ्नो पहिलो खेलमा मल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेलमा श्रीलङ्काले बङ्गलादेशको र तेस्रो खेलमा नेपालले बङ्गलादेशको सामना गर्नेछ । त्यसैगरी चौथो खेलमा श्रीलङ्काले मल्दिभ्सको, पाँचौं खेलमा मल्दिभ्सले बङ्गलादेशको र छैठौं तथा लिग चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्काको सामना गर्नेछ ।
लिग चरणमा उत्कृष्ट गर्ने दुई टोलीबीच पोखरा रङ्गशालामा मङ्सिर २२ गते आइतबार उपाधिको लागि स्पर्धा हुनेछ ।