logo
२०८१ मंसिर ७ शुक्रवार



एसीसी इमर्जिङ्ग कपमा बङ्गलादेश ७७ रनले पराजित, उपाधि पाकिस्तानलाई

खेलकुद |


एसीसी इमर्जिङ्ग कपमा बङ्गलादेश ७७ रनले पराजित, उपाधि पाकिस्तानलाई


एजेन्सी
काठमाडौं, मङ्सिर ७ गते । पाकिस्तान एसीसी इमर्जिङ्ग टिम्स एसिया कप २०१९ को उपाधि जितेको छ । फाइनलमा बङ्गलादेशमाथि ७७ रनको जित हात पार्दै पाकिस्तानले उपाधि उचालेको छ ।
बङ्गलादेशमा दुई सातादेखि जारी प्रतियोगिताको फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको ३ सय २ रनको लक्ष्य पछ्याउँदै बङ्गलादेश ४३ ओभर ३ बलमा मात्र २ सय २४ रनमा समेटिन पुग्यो । विशाल लक्ष्य समक्ष बङ्गलादेशका लागि कप्तान नज्मुल शान्टोले ४६, अफिफ होस्सैन ध्रुबोले ४९ तथा मेहदी हसनले ४२ रनको योगदान गरेपनि जितका लागि अपर्याप्त भयो । नज्मल शान्टो र यासिर अली चौधरीबीच तेस्रो विकेटका लागि भएको ५१ रनको साझेदारी बङ्गलादेशी पारीको सबैभन्दा ठूलो साझेदारी रहयो ।

ओपनर नइम शेष १६ र सौम्य सरकार १५ रन बनाएर सस्तोमै पेभेलियन फर्किदा बङ्गलादेशले स्थिर सुरुवात गर्न सकेन । अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्नुभएन ।
पाकिस्तानलाई जित दिलाउन मोहम्मद हस्नैनले सर्वाधिक तीन विकेट लिनुभयो । खुश्दील शाह र सैफ बदरले सामान दुई दुई विकेट लिनुभयो । अम्मद बट्ट र उमेर खानले बाँकीको दुई विकेट बाँड्नुभयो ।


यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको पाकिस्तानले पुरा ५० ओभर खेलेर छ विकेटको क्षतिमा ३ सय १ रनको विशाल योगफल तयार गरेको थियो । ४१ रनमै दुई विकेट गुमाएको पाकिस्तानका लागि ब्याटिङ्ग गर्न आउनुभएका विकेटकीपर ब्याट्सम्यान रोहैल नाजिरले शतकीय पारी खेलेपछि पाकिस्तान पारी उकासिएको थियो । अर्का ब्याट्सम्यान इमरान रफिकले ६२ तथा कप्तान शौद शकीलले ४२ रनको योगदान गर्नुभयो । रोहैलले रफिकसँग तेस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्नुभयो ।
बङ्गलादेशका लागि सुमोन खानले तीन तथा हसन महमुदले दुई र महदी हसनले एक विकेट लिनुभयो ।

प्रतियोगिताका दुई बलिया राष्ट्र भारत र अफगानिस्तान सेमीफाइनलबाटै बाहिरिएको थियो । नेपाल भने लिग चरणको आफ्नो तेस्रो खेलमा बंगलादेशबाट पराजित भई प्रतियोगिताबाट बाहिरियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?