एजेन्सी
काठमाडौं, मङ्सिर ७ गते । पाकिस्तान विरुद्धको पहिलो टेष्ट म्याचमा अष्ट्रेलिया बलियो स्थितिमा पुगेको छ । पहिलो पारीमा अष्ट्रेलियाले ३ सय ४० रनको अग्रता लिएसँगै पाकिस्तानमाथि हारको खतरा उत्पन्न भएको छ ।
तेस्रो दिनको खेल सकिदा पाकिस्तानले आफ्नो दोस्रो पारीमा ३ विकेटको क्षतिमा ६४ रन बनाएको छ । ऊ पहिलो पारीमा अष्ट्रेलियाभन्दा २ सय ७६ रनले पछाडि रहेको छ । पाकिस्तानका लागि ओपनर शान मसूद २७ तथा बबर आजम २० रनको ब्यक्तिगत् योगफलबाट चौथो दिनको खेल अगाडि बढाउनेछन् । कप्तान अजहर अली ५, हरिस सोहैल ८ तथा असद शफिक डक आउट भएपछि पाकिस्तान दोस्रो पारीमा समेत दबाबमा आएको छ । अष्ट्रेलियाका लागि मिसेल स्टार्कले दुई तथा प्याट क्युमिन्सले एक विकेट लिनुभयो ।
यसअघि एक विकेटको क्षतिमा ३ सय ७२ रनबाट तेस्रो दिनको खेल अगाडि बढाएको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा ५ सय ८० रन बनायो । अष्ट्रेलियालाई सम्मानजनक अवस्थामा पुर्याउन ओपनर देवीड वार्नरले १ सय ५४ तथा मार्नस लबुस्नेले १ सय ८५ रनको उत्कृष्ट पारी खेल्नुभयो । विकेटकीपर ब्याट्सम्यान मैथ्यु वाडेले ६० रनको योगदान दिनुभयो । पाकिस्तानका लागि यासिर शाहले सर्वाधिक चार तथा शाहीन शाह अफ्रिदी र हरिस सोहैलले सामान दुई दुई विकेट लिनुभयो । इमरान खान र नसीम शाहले एक एक विकेट बाँड्नुभयो ।
यसअघि ब्रिसबैनको गब्बा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पाकिस्तानले आफ्नो पहिलो पारीमा मात्र २ सय ४० रनमा समेटिन पुग्यो । पाकिस्तानका लागि असद शफिकले बनाउनुभएको ७६ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । पाकिस्तानी पारी सस्तोमै समेटन अष्ट्रेलियाली तिब्र गतिका बलर मिसेल स्टार्कले सर्वाधिक चार विकेट लिनुभयो । प्याट क्युमिन्सले तीन तथा जोश हयाज्लऊडले दुई र नाथन लियोनले एक विकेट लिनुभयो ।