एजेन्सी
काठमाडौं, मङ्सिर ८ गते । प्रिमियर लिग च्याम्पियन म्यान्चेष्टर सिटिले लयमा रहेको चेल्सीलार्ई पराजित गर्दै लिगमा वापसी गरेको छ । रोमाञ्चक स्पर्धामा सिटिले चेल्सीमाथि २–१ को जित हात पार्यो ।
आफ्नो सातवटै घर बाहिरको खेलमा जित हात पारेको भ्रमणकारी चेल्सीका लागि मार्को कोभासिसको पासलाई एन्गोलो कैन्टले गोलमा परिणत गरेपछि अग्रता लिएको थियो । खेलको २१ औं मिनेटमा कैन्टले पहिलो गोल गर्नुहुँदै चेल्सीलाई म्यान्चेष्टर सिटिमाथि १–० को अग्रता दिलाउनुभयो ।
म्यान्चेष्टर सिटि चेल्सी विरुद्ध उत्रिनु अघि प्रिमियर लिगमा शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा १२ अङ्क पछाडि रहेको थियो । उपाधि रक्षा गर्न नसक्ने आँकलन भइरहँदा घरेलु टोलीका लागि केभीन डे ब्रुनको प्रहारले बराबरीमा ल्यायो । खेलको २९ औं मिनेटमा ब्रुनले बराबरी गोल गर्दै खेल १–१ को अवस्था ल्याउनुभयो ।
पहिलो हाफको अन्तिम समयमा रियाद महरेजले गर्नुभएको गोल नै निर्णायक गोल रहन गयो । र ३७ औं मिनेटमा महरेजले दिलाएको अग्रताले सिटि ले चेल्सीमाथि २–१ जित हात पार्यो । जितसँगै म्यान्चेष्टर सिटि प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । महरेज प्रिमियर लिगको ११ खेलमा १० गोलमा प्रत्यक्ष संलग्न रहनुभएको छ । लिगमा मात्रै उहाँले चार गोल गर्नुभएको छ भने ६ गोलका लागि सहयोग गर्नुभएको छ ।
१३ खेलबाट ३७ अङ्कसहित लिभरपुल अङ्कतालिकाको शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको लिसेस्टरको २९ अङ्क र तेस्रो स्थानमा उक्लिएको सिटिको २९ अङ्क रहेको छ । चेल्सी भने हारसँगै २६ अङ्कसहित चौथो स्थानमा झरेको छ ।