एजेन्सी
ब्राड्ली जोन वाटलिङ्गले मिसेल शान्टनरसँग साझेदारीको क्रममा ४ सय ७३ बलको ‘म्याराथन’ पारी खेल्नुभयो । उहाँको उक्त पारीकै जगमा न्युजिल्याण्डले इंग्ल्याण्ड विरुद्ध अहिलेसम्मकै ठूलो योगफल तयार गर्न सफल भयो ।
माउन्ट मौन्गनुईमा न्युजिल्याण्डका वाटलिङ्गले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट म्याचको पहिलो पारी खेल्दै गर्दा थुप्रै कीर्तिमान भङ्ग गरेर आफ्नो नाममा कायम गराउनुभयो । जसमध्ये केही कीर्तिमान यसप्रकार छन् –
१.
वाटलिङ्गले विकेटकीपर ब्याट्सम्यानको हैसियतमा दोस्रो सबैभन्दा लामो पारी खेल्नुभयो । श्रीलङ्काका ब्रान्डन कुरुप्पुले वर्ष १९८७ मा न्युजिल्याण्ड विरुद्ध ५ सय ४८ बल खेलेर बनाउनुभएको कीर्तिमान अहिलेसम्म सबैभन्दा लामो पारीको कीर्तिमान हो । वाटलिङ्गपछि उक्त कीर्तिमान जिम्बाबवेका एन्डी फ्लावरको नाममा रहेको छ । उहाँले दक्षिण अफ्रिका विरुद्ध वर्ष २००१ मा ४ सय ७० बल खेलेर १ सय ९९ रनमा अविजित रहनुभयो ।
२.
विकेटकीपर ब्याट्सम्यानको रुपमा दोहोरा शतक लगाउने वाटलिङ्ग ९ औं ब्याट्सम्यान बन्न पुग्नुभयो । यसअघि पाकिस्तानका इम्तियाज अहमद, पाकिस्तानकै तस्लीम अरिफ, श्रीलङ्काका ब्रान्डन कुरुप्पु, जिम्बाबवेका एन्डी फ्लावर, अष्ट्रेलियाका एडम गिलक्रिष्ट, श्रीलङ्काका कुमार संगाकारा, भारतका महिन्दर सिंह धोनी, बङ्गलादेशका मुश्फीक्र रहिमको दुई पटक दोहोरा शतक कायम छन् । टेष्ट मान्यता प्राप्त दक्षिण अफ्रिका र इंग्ल्याण्डका कुनै पनि विकेटकीपरले अहिलेसम्म दोहोरा शतक लगाउन सकेका छ्रैनन् ।
३.
इंग्ल्याण्ड विरुद्ध कुनै पनि विकेटकीपर ब्याट्सम्यानले दोहोरा शतक लगाएका छैनन् । वाटलिङ्गले पहिलोपटक इंग्ल्याण्ड विरुद्ध दोहोरा शतक लगाएर कीर्तिमान बनाउनुभएको छ । यसअघि बुद्धी कुन्देरानले इंग्ल्याण्ड विरुद्ध बनाउनुभएको १ सय ९२ रनको कीर्तिमान छ ।
४.
वाटलिङ्गले आफ्नो अन्तिम तीन टेष्ट खेलमा ८ सय ७२ बलको सामना गर्नुभएको छ । न्युजिल्याण्डका यी कीपरले प्रत्येक पटक आउट हुन १ सय ८९ बलको सामना गरेको कीर्तिमान बनेको छ । जुन यसवर्ष कुनै पनि ब्याट्सम्यानको औसतभन्दा बढी हो ।
५.
न्युजिल्याण्डको पाँचौं विकेटका लागि ९ सय ६८ बलको सामना गर्ने कीर्तिमान समेत वाटलिङ्ग र शान्टनरको बीचमा कायम भएको छ । न्युजिल्याण्डका लागि उक्त साझेदारी अहिलेसम्मको पाँचौं लामो साझेदारी हो ।
६.
न्युजिल्याण्डले इंग्ल्याण्ड विरुद्ध पहिलो पारीमा ९ विकेटको क्षतिमा घोषणा गरेको ६ सय १५ रनको योगफल अहिलेसम्मकै इंग्ल्याण्ड विरुद्ध टेष्ट म्याचमा तयार गरिएको उसको लामो योगफल हो । यसअघि उसले ९ विकेटको क्षतिमा ५ सय ५१ रनमा १९७३ मा लामो योगफल तयार गरेको कीर्तिमान थियो । न्युजिल्याण्डको यो ९ औं ६ सय रनमाथिको योगफल हो ।
(क्रिकइन्फोको सहयोगमा)