logo
२०८१ मंसिर ७ शुक्रवार



सागको ओलम्पिक टर्चसहितको टोली हेटौँडामा

खेलकुद |


सागको ओलम्पिक टर्चसहितको टोली हेटौँडामा


मकवानपुर समाचारदाता
हेटौँडा, मङ्सिर ८ गते । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्चसहितको टोली प्रदेश ३ को मुकाम हेटौँडा पुगेको छ । ओलम्पिक टर्च भ्रमणको जिम्मा पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी सहितको टोली प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधाम हुँदै आइतबार हेटौँडा आइपुगेको हो । ओलम्पिक टर्च लिएर हेटौँडा आइपुगेको ओलम्पियन जितबहादुर केसी नेतृत्वको टोलीलाई जिल्ला खेलकूद विकास समिति मकवानपुरले स्वागत गरेको छ ।
समितिले यहाँ आयोजना गरेको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामा, प्रदेश ३ खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, खेलाडी तथा प्रशिक्षकहरुले स्वागत गर्नु भएको थियो ।
यही मङ्सिर १५ गतेदेखि २४ गतेसम्म जनकपुर, काठमाडौँ र पोखरामा हुने सागको सन्देश दिँदै छजना ओलम्पियनहरु ओलम्पिक टर्च लिएर हेटौँडा आइपुगेका थिए ।
टोलीमा ओलम्पियनहरु राजकुमारी पाण्डे, जितबहादुर केसी, टीकाराम श्रेष्ठ, मुकुन्दहरि श्रेष्ठ, ज्ञानबहादुर बोहोरा र कान्छिमाया कोजु रहनु भएको छ । कार्यक्रममा ओलम्पियन टीकाराम श्रेष्ठले नेपालमा हुनु लागेको सागलाई ऐतिहासिक एवं सफल बनाउन र दक्षिण एसियाकै खेलकुद महापर्वको सन्देश दिन देशका विभिन्न सहरहरुमा हिडेंको बताउँदै प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
ओलम्पिक टर्च मङ्सिर ९ गते सोमबार प्रदेश ५ को लुम्बिनी र बुटवल, १० गते कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगञ्ज, ११ गते सुदूरपश्चिम प्रदेशको धनगढी तथा १२ गते गण्डकी प्रदेशको पोखरा पुग्ने छ । पोखरामा परिक्रमापछि काठमाडौँ ओलम्पिक टर्च लिएर जाने कार्यतालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?