एजेन्सी
काठमाडौं, मङ्सिर ९ गते । शेफिल्ड यूनाइटेडले खेलको अन्तिम समयमा नाटकीय रुपमा बराबरी गोल गर्दै म्यान्चेष्टर यूनाइटेड विरुद्धको खेलमा अङ्क बाँडेको छ । खेलको अधिकांश समय प्रभुत्व राखेको शेफिल्डको १९९२ पछि पहिलोपटक म्यान्चेष्टर यूनाइटेडमाथि जित हात पार्ने दाउ भने असफल भयो ।
प्रिमियर लिग अन्तगर्त आइतबार राति सम्पन्न खेलमा शेफिल्ड यूनाइटेडको २–० को अग्रतालाई पछि पार्दे म्यान्चेष्टर यूनाइटेडले ३–० को बढ्त बनाएपछि अन्तिम समयको गोलले बराबरीमा रोकियो । फरवार्ड क्यालम रोबिन्सनको क्रसमा ओलिभर म्याकबर्नले खेलको ९० औं मिनेटमा गर्नुभएको प्रहार गोलमा परिणत भयो । सहायक रेफ्रीले क्यालम रोबिन्सनको क्रसलाई नियन्त्रण गर्दा म्याकबर्नले ‘हयाण्ड’ गरेको दाबी आएपछि भिडियो मार्फत् पुनरावलोकन गर्दै गोलको पुष्टी गर्नुभएको थियो ।
२–० ले पछाडि परेपछि म्यान्चेष्टर यूनाइटेडले खेलको ७२ औं, ७७ औं र ७९ औं मिनेटमा वापसी गर्दै लगातार तीन गोल गरेपछि खेल आफ्नो पक्षमा पारेको थियो । १९ वर्षिय ब्रान्डन विलियम्सले ७२ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा म्यान्चेष्टर यूनाइटेडको वापसी गराउनुभयो । ‘सब्स्टिच्युट’ मेसोन ग्रीनऊडले बराबरी गोल गर्दा मार्कस राशफोर्डले ७९ औं मिनेटमा थप गोल गर्दै म्यान्चेष्टर यूनाइटेडलाई अग्रता दिलाउनुभयो ।
म्यान्चेष्टर यूनाइटेड बराबरीमा रोकिएसँगै १३ खेलबाट १७ अङ्कसहित ९ औं स्थानमा रहेको छ । शेफिल्ड यूनाइटेड भने १३ खेलबाट १८ अङ्कसहित छैठौं स्थानमा उक्लिएको छ । लिभरपुल भने अङ्कतालिकामा आफ्नो वर्चश्व कायमै राखी ३७ अङ्कसहित शिर्ष स्थानमा रहेको छ ।