गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १० गते । सरकारले बङ्गलादेशमा सम्पन्न एभीसी एसिया सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि जितेको महिला भलिबल टोलीलाई पुरस्कृत गरेको छ । भलिबल प्रतियोगितामा अहिलेसम्मकै ठूलो उपाधि हात पारेको महिला भलिबल टोलीका प्रत्येक सदस्यलाई सरकारले तीन तीन लाख नगद रुपियाँ र सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।
प्रज्ञा भवनमा कार्यकारी समिति १३ औं सागले आयोजना गरेको १३ औं साग–२०७६ मा सहभागीहरुलाई प्रधानमन्त्री के पी शर्मा ओलीबाट विशेष सम्बोधन एवं शुभकामना कार्यक्रमको अवसर पारेर भलिबल टोलीका सदस्यहरुलाई सम्मानसहित पुरस्कृत गरिएको हो । प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि उक्त कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन एवं शुभकामनासँगै खेलाडी, प्रशिक्षकलाई पुरस्कार दिनुभयो ।
एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले एउटै सेट नहारी उपाधि जितेको थियो । टोली नेपाल फर्किदा राखेपका सदस्य सचिव रमेश सिलवालले खेलाडीलाई प्रोत्साहन स्वरुप तीन तीन लाख नगद प्रदान गर्न पहल गर्ने बताउनुभएको थियो ।
सागमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकसहित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल अतिथिको रुपमा उपस्थित थिए ।
पुरस्कृत हुनेमा भलिबल टोलीका कप्तान अरुणा शाही, सदस्य प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खडका, निरुता ठगुन्ना, पुनम चन्द, साफिया पुन र जानकी भण्डारी हुनुहुन्छ ।
त्यसैगरी, मुख्य प्रशिक्षक जगदीश भट्ट, प्रशिक्षक सलिना श्रेष्ठ र भरत यादब तथा व्यवस्थापक रिता कोइरालापनि सम्मानित हुनुभयो ।