एजेन्सी
काठमाडौं, मङ्सिर ११ गते । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक रबि शास्त्रीले इन्डियन प्रिमियर लिगमा महिन्दर सिंह धोनीको प्रदर्शनले उहाँको टी ट्वान्टी विश्वकपको छनोट निर्धारण गर्ने बताउनुभएको छ । टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता आगामी वर्ष अष्ट्रेलियामा हुनेछ ।
जुलाईमा अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट विश्वकप सम्पन्न भएदेखि धोनीको क्रिकेट भविष्यबारे टिप्पणी हुँदै आएको छ । धोनी ३८ वर्षका हुनुहुन्छ । न्युजिल्याण्ड विरुद्ध विश्वकपको सेमीफाइनलमा हार बेहोरे यता धोनीले क्रिकेटमा वापसी गर्नुभएको छैन् ।
केही महिना अघि धोनीको क्रिकेट भविष्यबारे तात्कालै कुरा गर्नु अनादर हुने टिप्पणी गर्नुभएको शास्त्रीले बङ्गलादेश विरुद्धको डे नाइट टेष्ट खेलमा जित हात पारेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै धोनीको विषयमा प्रवेश गर्नुभयो । शास्त्रीले आई ए एन एसलाई भन्नुभयो, “उहाँले कहिलेदेखि खेल्नु सुरु गर्नुहुन्छ र आईपीएलमा उहाँको प्रदर्शन कस्तो हुनेमा निर्भर रहन्छ ।” शास्त्रीले थप्नुभयो, “विकेटकीपिङ्ग ग्लोब्समा अर्काको प्रदर्शन कस्तो हुन्छ वा धोनीको लयभन्दा उनीहरुको लय कस्तो हुन्छ ।”
भारतले ऋषभ पन्तलाई विकेटकीपरको रुपमा विकास गर्न खोजेको छ । सिमित ओभरको खेलमा केन्द्रित हुन उहाँलाई बङ्गलादेश विरुद्धको टेष्ट टोलीबाट सैयद मुश्ताक अली टी ट्वान्टी प्रतियोगिता खेल्न मुक्त गरिएको थियो ।
विश्वकप सम्पन्न भए यता भारतले तीन टी ट्वान्टी श्रृखंला र एक अन्तर्राष्ट्रिय एकदिवसिय श्रृखंला खेलेको छ । तर धोनी भने कुनैमा सहभागी हुनुभएको छैन् । अक्टोबर महिनामा धोनीबारे सञ्चारकर्मीको जिज्ञासामा प्रमुख चयनकत्र्ता एम एस के प्रसादले हामी अगाडि बढेको टिप्पणी गर्नुभएको थियो ।
तर भारतीय क्रिकेट कन्ट्रोल बोर्डका नवनिर्वाचित अध्यक्ष सौरभ गांगुली र प्रमुख प्रशिक्षक रबि शास्त्रीले भने आफ्नो क्रिकेट जिवन कहिलेसम्म चल्ने बारे निर्णय गर्ने अधिकार धोनी मात्रैलाई भएको प्रष्ट्याउँदै आउनुभएको छ ।
विश्वकप टी ट्वान्टी प्रतियोगिता अक्टोबर २०२० मा हुनेछ । मार्च २०२० मा प्रिमियर लिगको संस्करण लगत्तै विश्वकपका लागि खेलाडी चयन गरिने बीसीसीआईले जनाएको छ ।