logo
२०८१ मंसिर ७ शुक्रवार



टोटेनहम र म्यान्चेष्टर सिटि नक आउट चरणमा

खेलकुद |


टोटेनहम र म्यान्चेष्टर सिटि नक आउट चरणमा


एजेन्सी
काठमाडौं, मङ्सिर ११ गते । टोटेनहमले ओलम्पियाकोसलाई हराउँदै च्याम्यिन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ । खेलको पूर्वाद्धमै २–० ले पछाडि परेको टोटेनहम पहिलो हाफको अतिरिक्त समय र दोस्रो हाफमा लगातार तीन गोल गर्दै अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ ।
जोश मौरिन्हो व्यवस्थापनले पहिलो खेलमै टोटेनहमलाई नाटकीय जित दिलाएको हो । खेल सुरु भएको छैठौं मिनेटमा ओलम्पियाकोसका लागि युसेफ अल अरबीले सुरुवाती गोल गर्नुहुँदै १–० को अग्रता दिलाउनुभयो । १३ मिनेटपछि पहिलो हाफको १९ औं मिनेटमा रुबेन सेमेडोले कर्नर नजिकबाट गर्नुभएको प्रहार गोलमा परिणत भएपछि २–० ले पछाडि परेको मौरिन्होको टोली थप दबाबमा आएको थियो ।
लगत्तै मौरिन्होले एरिक डैरको स्थानमा क्रिष्टियान एरिक्सनलाई मैदानमा उतार्नुभयो । तर ओलम्पियाकोसका यासिन मेरियाले डेले अलीलाई बल दिन पुग्दा अतिरिक्त समयमा अलीले गर्नुभएको प्रहारले टोटेनहमलाई खेलमा वापसी दिलायो र पहिलो हाफ २–१ मा टुंगियो ।
५० औं मिनेटमा लुकास मौराको क्रसलाई हयारी केनले गोलमा परिणत गर्दा खेल २–२ को बराबरीमा आयो । ७३ औं मिनेटमा सर्ज औरियरले गोल गर्नुहुँदै टोटेनहमलाई ३–२ को अग्रता दिलाउनुभयो । केनले चार मिनेट नबित्दै गर्नुभएको थप गोल नै खेलको अन्तिम गोल हुन पुग्यो र टोटेनहम ४–२ को अन्तरले जित हात पार्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान सुनिश्ति गर्यो ।
इंग्ल्याण्ड फुटबल टोलीका कप्तान हयारी केनले ओलम्पियाकोसविरुद्धको खेलमा अलेसान्ड्रो डेन पिआरोको सबैभन्दा कम खेलमा बढी गोलको कीर्तिमान समेत भङ्ग गर्नुभयो । केनले २४ च्याम्पियन्स लिगको खेलमा २० गोल गर्नुहुने पहिलो खेलाडी बन्नुभयो । अलेसान्ड्रो भने त्यत्तिकै गोल गर्न २६ खेलमा उत्रिनुपरेको थियो ।
त्यसैगरी, मङ्गलबार अबेर राति नै सम्पन्न अर्को खेलमा बराबरीमा रोकिएपनि म्यान्चेष्टर सिटि नक आउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तगर्तको खेलमा म्यान्चेष्टर सिटि र यूक्रेनी क्लब शख्तर डोनेस्कबीचको खेल १–१ को बराबरीमा सम्पन्न भयो । लिग चरणको अन्तिम खेल बाँकी छँदै सिटि अन्तिम १६ मा पुगेको छ ।
पेरिस सैन्ट जर्माइनले २–० ले पछाडि परेको अवस्थाबाट वापसी गर्दै रियल मड्रिडलाई बराबरीमा रोकेको छ । दुबै टोली खेल सुरु हुनु अघि नै अन्तिम १६ को लागि स्थान सुनिश्चित गरिसकेको छ । खेल सुरु हुनु अघि नै समूह ए कै अर्को खेलमा क्लब ब्रुगेसले गलातासरायलाई १–१ को बराबरीमा रोकेपछि रियलले पाँच खेलबाट ८ अङ्कसहित नक आउट चरणमा प्रवेश गर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?