गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ११ गते । नेपाली क्रिकेट टोली ‘क्रिकेटको घर’को उपमा पाएको ‘लर्डस् क्रिकेट ग्राउन्ड’मा फेरी उत्रिने भएको छ । यसअघि नेपालले अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेटको मान्यता पाए लगत्तै सन् २०१६ मा पहिलोपटक एम सी सी विरुद्ध लर्डस रङ्गशालामा उत्रेको थियो । उक्त खेलमा नेपालले जित हात पारेको थियो । दुईवर्षपछि नेपाली क्रिकेट टोली गत् वर्ष जुलाईमा पनि एम सी सी र नेदरल्याण्ड्स विरुद्धको त्रिपक्षीय टी ट्वान्टी श्रृखंलामा लर्डस्मा उत्रेको थियो ।
लर्डस्ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्ने क्रममा नेपाली टोलीले फेरी लर्डस्मा उत्रिने अवसर जुरेको हो । क्रिकेट जिवनमा प्रत्येक खेलाडीलाई कम्तिमा एकपटक लर्डस्मा उत्रिने सपना हुन्छ । वार्षिक तालिका बमोजिम नेपाली क्रिकेट टोलीले लर्डस्मा मेरिलेबोन क्रिकेट क्लबसँग स्पर्धा गर्न आगामी वर्ष लर्डस्मा उत्रिनेछ । उक्त खेल २०२० को अगस्ट २४ का लागि तय गरिएको छ । लर्डस्ले आफ्नो आधिकारिक वेबसाइटमा लेखेको छ, “नेपालले २४ अगष्ट २०२० सोमबारको दिन एम सी सी क्लबको सामना गर्नेछ ।”
नेपाललेी क्रिकेटले एम सी सी क्लबलाई गत् महिनाको अन्तिममा त्रिदिवसिय खेलको लागि आयोजना गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा पुरानो क्लब एम सी सीले क्रिकेटको स्तर सुधार्न वार्षिक रुपमा एकदिवसिय मान्यता प्राप्त राष्ट्रहरुसँग खेल्दै आएको छ ।