एजेन्स
काठमाडौं, मङ्सिर १२ गते । बार्सिलोनाले बोरसिया डर्टमन्डमाथि जित हात पार्दै च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ । बार्सिलोनाले डर्टमन्डमाथि ३–१ को जित हात पार्यो ।
डर्टमन्डमाथि जित हात पार्ने क्रममा लिओनल मेस्सीले बार्सिलोनासँग आबद्ध भएको ७०० औं खेलमा उत्रिनुभएको थियो । मेस्सीले च्याम्पियन्स लिगमा गोल संख्या ११४ पुर्याउनुभएको छ । पोष्टको बायाँ कर्नरमा मेस्सीबाट पाएको पासलाई गोलमा परिणत गर्दै लुइस सौरेजले बार्सिलोनालाई १–० को अग्रता दिलाउनुभयो ।
चार मिनेटपछि मेस्सीले अग्रतालाई २–० पार्नुभयो । बार्सिलोनाका लागि यो उहाँको ६१३ औं गोल हो । एन्टोनिओ ग्रीजमन्नले ६७ औं मिनेटमा एक गोल गर्दै बार्सिलोनाको अग्रतालाई ३–० पुर्याउनुभयो । गोल पोष्टको आठ गजबाहिरबाट बायाँ खुट्टाले गर्नुभएको प्रहार गोलमा परिणत गर्दै ग्रीजमन्नले बार्सिलोनालाई सहज अवस्थामा पुर्याउनुभयो । इंग्ल्याण्डका विंगर जाडन साञ्चोले ७७ औं मिनेटमा गर्नुभएको पहिलो गोलमा डर्टमन्डले वापसी गर्यो । यद्दपी उक्त गोल नै डर्टमन्डको अन्तिम गोल रहन गयो । समूह एफ मा रहेको बार्सिलोनाले पाँच खेलबाट ११ अङ्क जुटाएर समूहमा शिर्ष स्थानमा रहेको छ । इन्टर मिलान र डर्टमन्ड सामान पाँच पाँच खेलबाट सात अङ्क बटुलेको छ । स्लाभिया पराग्वेले भने दुई अङ्कसहित समूहको पुछारमा छन् ।
च्याम्पियन्स लिग अन्तगर्त नै बुधबार अबेर राति सम्पन्न अर्को खेलमा चेल्सीले भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । अन्तिम १६ मा स्थान सुनिश्चित गर्न उत्रेको चेल्सीले बराबरीमा रोकिएसँगै समूहको अन्तिम खेलसम्म रोकिनुपर्ने भएको छ ।
समूह एच मा रहेको चेल्सी पाँच खेलबाट ८ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । अजेक्स भने पाँच खेलबाट १० अङ्कसहित शिर्ष स्थानमा र भ्यालेन्सिया पाँच खेलबाट आठ अङ्कसहित दोस्रो तथा पाँच खेलबाट एक अङ्क मात्रै बटुलेको लीली समूहको पुछारमा रहेको छ ।