logo
२०८१ मंसिर ७ शुक्रवार



महिला भलिबलमा भारतसँग नेपालको हार

खेलकुद |


महिला भलिबलमा भारतसँग नेपालको हार
तस्विर - विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १२ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्तको महिला भलिबल खेलमा नेपालले भारतसँग हार बेहोरेको छ । समूहगत् चरणको आफ्नो दोस्रो खेलमा नेपाली महिला भलिबल टोलीले प्रतियोगितामा उपाधिको दाबेदार भारतसँग सशक्त प्रतिद्वन्दी भारतसँग ३–० को सोझो सेटमा हार बेहोरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरको कभर्ड हलमा सम्पन्न खेलमा नेपालले पहिलो सेटमा भारतलाई कडा चुनौती दिदादिदै गुमाउन पुग्यो । नेपालले भारत विरुद्धको खेलमा २४–२६, १२–२५ र १६–२५ ले हार बेहोर्न पुगेको छ । पहिलो सेटको सुरुमै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएर भारतमाथि सुरुवाती दबाब कायम गर्न सफल भएको थियो । सुरुदेखि नै अग्रता बनाएको नेपालले खेलको अन्तिमसम्म त्यसलाई कायम राख्यो । २४ अङ्कसम्म नेपालले अग्रता लिएपनि त्यसपछि खेलमा भारतले वापसी गरेको थियो । अन्तिमसम्म भारतलाई पछ्याएको नेपालले अन्ततः २६–२४ ले पहिलो सेट गुमाउन पुग्यो ।


दोस्रो र तेस्रो सेटमा नेपाली महिला भलिबल टोलीले दबाबमा राम्रो प्रदर्शन गर्न सकेनन । यद्दपी दोस्रो सेटको सुरुवातमै नेपालले अङ्क हासिल गरी भारतमाथि दबाब सृजना गर्न प्रयासरत रह्यो । पहिलो सेटमा कडा चुनौती दिएपनि गुमाउन बाध्य भएको नेपालले दोस्रो सेटमा वापसी गर्ने अपेक्षा गरिएको थियो । तर घरेलु हलमा समर्थनका बावजूद नेपालले दोस्रो सेट पनि १२–२५ ले गुमाउन पुग्यो । दोस्रो र तेस्रो सेटमा नेपालले ‘ब्लक’ र ‘कभर’मा चुक्न पुग्दा भारतले सहजै जित हात पार्न सफल भयो । भारत विरुद्धको खेलको लागि नेपालले आफ्नो पहिलो रोजाइको टोली मैदानमा उतारेको थियो ।

आफ्नो पहिलो खेलमा बंगालदेशमाथि ३ ० को सोझो सेटमा जित हात पारेर सागमा उत्कृष्ट सुरुवात गरेको महिला टोलीले भने दोस्रो खेलमा हार बेहोर्न पुग्दा समूहको विजेता र उपविजेताको टुंगो शुक्रबार हुने भारत र बंगलादेशबीचको खेलबाट हुनेछ । समूहमा उत्कृष्ट हुने दुई टोली सेमीफाइनलमा स्थान बनाउनेछन् । सेमीफाइनलमा हार बेहोर्ने दुई टोलीबीच तेस्रो स्थानको लागि स्पर्धा हुनेछ । 
जितसँगै भारत र नेपाल दुबैको समूह ए मा सामान तीन तीन अङ्क भएको छ । समूहको अन्तिम खेलमा भारतले बङ्गलादेशको सामना गर्नेछ । भारत र बङ्गलादेशबीचको स्पर्धाले समूहको विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?