गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १३ गते । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्तको महिला भलिबलको सेमीफाइनल खेलमा श्रीलङ्काको सामना गर्ने भएको छ । समूह बी को एक मात्र खेलमा श्रीलङ्काले माल्दिभ्समाथि ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो ।
समूह ए को उपविजेता रहेको नेपालले समूह बी को विजेतासँग स्पर्धा गर्ने तालिका बमोजिम सेमीफाइनलमा श्रीलङ्कासँगको भेट सुनिश्चित भएको हो । सेमीफाइनलको दुबै खेलहरु शनिबार नै खेलाइनेछ ।
समूह बी मा परेको अर्को राष्ट्र पाकिस्तान तालिका सार्वजनिक भएपछि खेल्न नआएपछि समूह बी मा एक मात्र खेल सम्भव भएको हो । उक्त खेल पनि समूहको विजेता र उपविजेता टुंग्याउन खेलाइएको हो । भारतले भने सेमीफाइनलमा अपेक्षाकृत आफ्नो कमजोर स्पर्धी माल्दिभ्सको सामना गर्नेछ ।
यसअघि शुक्रबार नै सम्पन्न पहिलो खेलमा महिला विधा अन्तगर्त भारतले आफ्दो दोस्रो खेलमा बङ्गलादेशमाथि जित हात पारेपछि नेपाली टोली स्वतः सेमीफाइनल प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरमा शुक्रबार सम्पन्न खेलमा भारतले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बङ्गलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए बाट भारत र नेपाल सेमीफाइनल प्रवेश गरेको छ । भारत दुई खेलबाट छ अङ्क जोड्दै विजेता भई सेमीफाइनल प्रवेश गरेको हो । बङ्गलादेशलाई पहिलो खेलमा ३–० को सोझो सेटमा हराएको नेपाल उपविजेता भई सेमीफाइनलमा स्थान तय गरेको हो । समूह ए मा नेपालले तीन अङ्क जोड्दा बङ्गलादेश अङ्कविहीन बन्न पुग्यो ।
नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । पहिलो सेटमा भारतलाई कडा चुनौती दिएको नेपालले बाँकीको दुई सेटमा वापसी गर्न सकेनन ।