गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १३ गते ।
नेपाली पुरुष भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुद(साग) यात्रा सकिएको छ । प्रतियोगिता अन्तगर्त भारत विरुद्धको आफ्नो दोस्रो खेलमा ३–० ले हार बेहोर्दै नेपाली पुरुष भलिबल टोली समूह ए मा अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।
पहिलो खेलमा बङ्गलादेशलाई चुनौती दिदादिदै ३–२ को चुनौतीपूर्ण खेल प्रस्तुत गरेको नेपाली टोलीले भारत विरुद्ध ३–० ले हार बेहोर्यो । नेपालले पहिलो सेट २५–१६ ले गुमाउन पुग्यो । पहिलो सेटमा नेपालको सर्भिस कमजोर हुँदा भारतले सहजै अङ्क बटुल्न सफल भयो । नेपालले पाएको सर्भिसको अवसरहरुमा समेत ‘पोल टच’ हुने र सट प्रहार गर्दा बल कोर्ट बाहिर जाँदा भारतले अङ्क बटुल्यो । नेपालले तीनै सेट २५-१५, २५-१३, र २५-१६ ले गुमाउँदै भारत विरुद्धको खेलमा हार बेहोर्यो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलको क्रममा नेपाली खेलाडीको शारीरिक सन्तुलन बनाउन समेत कमजोरीको रुपमा देखियो । पहिलो सेटमै नेपाली खेलाडीले ब्लकको क्रममा ‘नेट टच’ गर्ने जस्ता सामान्य त्रुटीहरु देखा पर्यो । भारतको सर्भिस, खेलाडीबीचको तारतम्य भने बेजोड देखिन्थ्यो । यद्दपी पहिलो सेटमा २५-१५ ले सेट गुमाएको नेपालले दोस्रो सेट वापसी गर्ने अपेक्षा गरिएको थियो ।
एक समय ३–५ को अवस्थामा रहेको नेपाल खेल अगाडि बढेसँगै ६–१३ को अवस्थामा पुग्यो । नेपालले प्रहार गरेको बल कोर्ट बाहिर जाँदा भारतले अङ्क बटुल्यो । उपाधिको दाबेदार भारत समक्ष नेपाली टोलीको आत्मविश्वास र मनोवैज्ञानिक दबाब खेलको क्रममा स्पष्ट देखिन्थ्यो ।
तेस्रो सेटमा भने नेपालले वापसीको प्रयास गर्दै खेललाई रोमाञ्चक अवस्थामा पुर्याउँदै ७–५ र ७–८ को अवस्थासम्म लग्यो । तर भारतको सन्तुलित र उत्कृष्ट सट छनोट, रिक्त स्थानमा बल ‘ड्रप’ गर्ने कला अगाडि नेपाली टोली नीरिह बन्न पुग्यो र तेस्रो तथा अन्तिम सेट पनि २५–१६ ले गुमाउँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
भारत समूह ए को विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । उसले लिग चरणमा नेपाल र बङ्गलादेश दुबै टोली विरुद्धको खेल जितेर सेमीफाइनलको लागि स्थान तय गरेको छ । समूह ए बाटै बङ्गलादेश पनि सेमीफाइनलमा स्थान सुनिश्चित गरेको छ । पहिलो खेलमा नेपालमाथि ३–२ को जित हात पारेको बङ्गलादेशले आफ्नो दोस्रो खेलमा भारतबाट ३–० को हार बेहोरेको थियो । बङ्गलादेशले तीन अङ्क जोडेर सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार हुने श्रीलङ्का र पाकिस्तानबीचको खेलले सेमीफाइनलको समीकरण पुरा गर्नेछ ।