logo
२०८१ मंसिर ७ शुक्रवार



भलिबल सेमीफाइनल आज, उपाधिको होडमा स्थान बनाउन नेपाल श्रीलङ्कासँग भिड्दै

खेलकुद |


भलिबल सेमीफाइनल आज, उपाधिको होडमा स्थान बनाउन नेपाल श्रीलङ्कासँग भिड्दै


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १४ गते । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त महिला भलिबलको दोस्रो सेमीफाइनल खेलमा नेपालले श्रीलङ्कासँग भिड्दैछ । दोस्रो सेमीफाइनल खेलमा समूह ए को उपविजेता रहेको नेपालले समूह बी को विजेता श्रीलङ्कासँग भिडने छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरमा बेलुकी सात बजेदेखि दोस्रो सेमीफाइनल खेल हुनेछ । समूह बी मा सम्भव भएको एक मात्र खेलमा श्रीलङ्काले माल्दिभ्समाथि ३–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको लागि स्थान तय गरेको थियो । नेपालले समूह ए मा बङ्गलादेशलाई ३–० ले हराएको थियो । र भारतसँग ०–३ ले हार बेहोरेको थियो । समूह बी मा परेको पाकिस्तानले साग महिला भलिबलमा सहभागी नहुने भएपछि श्रीलङ्का र माल्दिभ्सबीचको समूह बी को एकमात्र खेलबाट समूह विजेता र उपविजेताको टुंगो लगाइएको थियो ।
घरेलु मैदानसँगै समर्थकहरुको भिड पक्षमा रहेकोले नेपाली महिला भलिबल टोली उच्च आत्मविश्वास लिएर कोर्टमा उत्रिनेछन् । भारत विरुद्धको खेलमा मानसिक तनाबमा आएर नेपाली महिला टोली अत्तालिदा पहिलो सेटमा चुनौती दिएपनि दोस्रो तथा तेस्रो सेटमा कमजोर प्रदर्शन गर्न पुगेको थियो । नेपालले भारत विरुद्धको उक्त भुल सुधार गर्दै उपाधिको होडमा स्थान सुनिश्चित गर्न श्रीलङ्का विरुद्धको खेललाई अवसरको रुपमा लिनेछ । सागको औपचारिक उद्घाटन हुनुपूर्व नै पुरुष भलिबल टोलीको यात्रा समाप्त भएपछि प्रशंसकको नजर र समर्थन महिला भलिबल टोलीमाथि हुनेछ । 
उता पहिलो सेमीफाइनल खेलमा भारतले माल्दिभ्सको सामना गर्दैछ । अपेक्षाकृत कमजोर टोली रहेको माल्दिभ्स भारतलाई सोझो सेटको जित हात पार्न रोक्न प्रयासरत हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?