एजेन्सी
काठमाडौं, मङ्सिर १४ गते । अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान देवीड वार्नरले टेष्ट क्रिकेटमा तेहेरो शतक लगाउनुभएको छ । पाकिस्तान विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा उहाँले तेहेरो शतक लगाएर अविजित रहनुभयो ।
क्रिकेट जिवनको उत्कृष्ट लयमा रहनुभएका वार्नरले अष्ट्रेलियाको प्रतिनिधित्व गरी टेष्ट क्रिकेटमा तेहेरो शतक लगाउने सातौं ब्याट्सम्यान बन्नुभएको छ । अष्ट्रेलियाले पहिलो पारी घोषणा गर्दा ओभल क्रिकेट ग्राउण्डमा उहाँले पाकिस्तान विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो पारीमा ३ सय ३५ रनमा अविजित रहनुभयो । टेष्ट क्रिकेटमा यो १० औं सबैभन्दा उच्च ब्यक्तिगत् पारी हो । उहाँले ४१८ बलको सामना गर्दै ३९ चौका र एक छक्काको सहयोगमा ३३५ रन बनाएर अविजित रहनुभयो । उक्त पारीमा पाकिस्तानका बलर यासिर शाहको १११ बलको सामना गरी उहाँले ११० रन बनाउनुभयो ।
भारत विरुद्ध वर्ष २०१२ मा माइकल क्लार्कले तेहेरो शतक लगाए यता कुनै पनि अष्ट्रेलियन ब्याट्सम्यानले उक्त कीर्तिमानको बराबरी गर्न सकेको थिएन । उहाँले अविजित रहेर बनाउनुभएको ३ सय ३५ रन अष्ट्रेलियाको दोस्रो सबैभन्दा उच्च ब्यक्तिगत् योगफल हो । यसअघि म्याथ्यु हैडनले वर्ष २००३ मा जिम्बाबवे विरुद्ध पर्थमा ३८० रन बनाउनुभएको थियो । उक्त कीर्तिमान नै अहिलेसम्मको अष्ट्रेलियाली ब्याट्सम्यानको सबैभन्दा उच्च ब्यक्तिगत् योगफल हो ।
पाकिस्तान विरुद्ध तेहेरो शतक लगाउने वार्नर चौथो ब्याट्सम्यान हुनुहुन्छ । यसअघि भारतीय ब्याट्सम्यान विरेन्द्र सहवागले वर्ष २००४ मा मुल्तानमा पाकिस्तान विरुद्ध तेहेरो शतक लगाउनुभएको थियो ।
पाकिस्तानविरुद्धको खेलमा वार्नरले लगाउनुभएको तेहेरो शतकले अष्ट्रेलियालाई बलियो स्थितिमा पुर्याएको छ । खेलको दोस्रो दिन अष्ट्रेलियाले तीन विकेटको क्षतिमा ५८३ रनमा पारी घोषणा गर्दा मैथ्यु वाडे ३८ रनमा अविजित रहँदै वार्नरलाई सघाउनुभएको थियो । तर मार्नस लबुस्नेसँग उहाँले गर्नुभएको साझेदारी पारीको सबैभन्दा लामो साझेदारी हुन गयो । दोस्रो विकेटका लागि वार्नरले लबुस्नेसँग ३६१ रनको साझेदारी गर्नुभयो ।