गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १४ गते । पाकिस्तानले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त पुरुष भलिबलको सेमीफाइनलको लागि स्थान सुनिश्चित गरेको छ । लिग चरणको अन्तिम खेलमा श्रीलङ्कामाथि ३–१ को जित हात पार्दै पाकिस्तान समूह बी को विजेता बन्दै सेमीफाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरस्थित कभर्ड हलमा सम्पन्न खेलमा पाकिस्तान कमजोर सुरुवात गर्दागर्दै बेजोडको वापसी गर्यो । पहिलो सेटमा ३०–२८ ले जित हात पारेको श्रीलङ्काले भने बाँकीको सेटमा पाकिस्तानलाई कडा चुनौती दिएपछि जितबाट टाढा राख्न सकेनन । पहिलो सेटमा समेत पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको थियो । अत्यन्तै रोमाञ्चक स्पर्धामा पाकिस्तानले २८–३० को हार बेहोर्नुपर्यो । सामान २४ अङ्कबाट दुबै टोलीले एक अर्कोलाई पछि पार्दै अघि बढेको थियो । पाकिस्तान २८ अङ्कमा रोकिदा श्रीलङ्का ३० अङ्क बटुल्दै पहिलो सेट हात पार्यो ।
दोस्रो सेटमा पाकिस्तानले वापसी गर्दै २५–१८ ले आफ्नो पक्षमा पार्यो । उक्त लयलाई निरन्तरता दिदै पाकिस्तानले तेस्रो सेट पनि आफ्नो पक्षमा पार्दै खेललाई २–१ को अवस्थामा ल्यायो । तेस्रो सेट उसले २५–२० ले आफनो पक्षमा पार्दा खेल चौथो सेटमा पुग्यो । चौथो सेटमा आफ्नो प्रदर्शनलाई झनै सुधारेको पाकिस्तानलाई श्रीलङ्काले वापसी गर्दै कडा चुनौती दियो । यद्दपी उसले पाकिस्तानलाई समूह विजेता बन्नबाट रोक्नन सकेनन । चौथो सेटमा श्रीलङ्का २१ अङ्कमा रोकियो, पाकिस्तान २५ अङ्क बटुल्दै सेमीफाइनलमा बङ्गलादेशसँगको भेट सुनिश्चित गर्यो ।
श्रीलङ्का र पाकिस्तान दुबैले आफ्नो पहिलो खेलमा माल्दिभ्समाथि जित हात पारेको थियो । श्रीलङ्का भने अब सेमीफाइनलमा समूह ए को विजेता भारतसँगको भेट तय गरेको छ ।
नेपाल र माल्दिभ्सको पुरुष भलिबल टोलीको यात्रा भने सागको औपचारिक उद्घाटन अघि नै सकिएको छ ।