गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १४ गते । भारत १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त महिला भलिबलको फाइनलमा पुगेको छ । उपाधिका दाबेदार भारतले पहिलो सेमीफाइनल खेलमा अपेक्षाकृत कमजोर प्रतिद्वन्दी माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधिको होडमा स्थान सुनिश्चित गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरस्थित कर्भड हलमा शनिबार राति सम्पन्न खेलमा भारतले माल्दिभ्समाथि ३–० को जित हात पार्यो । पहिलो सेटमा २५–१४ को आफ्नो पक्षमा पार्दै १–० को अग्रता लिएको भारतले दोस्रो सेट २५–६ र तेस्रो सेट २५–१७ ले हात पार्दै स्वर्ण पदको होडमा स्थान सुनिश्चित गर्यो ।
माल्दिभ्स भने दोस्रो सेमीफाइनलमा नेपाल र श्रीलङ्काबीचको खेलमा हार बेहोर्ने टोलीसँग तेस्रो स्थानको लागि स्पर्धा गर्नेछ । बङ्गलादेश भने समूह ए को आफ्नो दुबै खेलमा हार बेहोरेर लिग चरणबाटै बाहिरी सकेको छ ।
पहिलो सेटमा भारतलाई चुनौती दिदादिदै माल्दिभ्स १४ अङ्कमा रोकियो । दोस्रो सेटमा कमजोर प्रदर्शन गरेको माल्दिभ्सका खेलाडी तेस्रो सेटमा वापसी गरेको थियो । सुरुदेखि नै रोचक बनेको तेस्रो सेट एक समय १४–१४ को अवस्थामा पुगेको थियो । सेट अगाडि बढिरहँदा माल्दिभ्सले तीन अङ्क जोड्दा भारत तेस्रो सेटको लक्षित २५ अङ्क जोडिसकेको थियो । अन्ततः भारत तेस्रो सेट पनि २५–१७ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदको होडमा स्थान सुरक्षित गरेको छ ।
महिला भलिबल अन्तगर्त माल्दिभ्सले दोस्रो सेमीफाइनलमा हार बेहोर्ने टोलीसँग सोमबार तेस्रो स्थानको लागि स्पर्धा गर्नेछ । सागको महिला भलिबलमा स्वर्ण पदकका लागि मंगलबार स्पर्धा हुनेछ ।