गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १४ गते । तेह्रौंदक्षिण एसियाली खेलकुद(साग) अन्तगर्तको महिला भलिबल विधामा नेपाल स्वर्ण पदको होडमा स्थान सुनिश्चित गरेको छ । दोस्रो सेमीफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधिको होडमा स्थान सुनिश्चित गरेको हो । साग महिला भलिबलमा नेपालको यो अहिलेसम्मकै उच्च प्रदर्शन हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरको कभर्ड हलमा शनिबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा जित हात पारेको हो । जितसँगै नेपालले स्वर्ण पदकका लागि भारतसँग स्पर्धा गर्नेछ । भारतले शनिबार नै सम्पन्न खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
लिग चरणमा एउटै समूहमा रहेको भारत र नेपाल एक अर्काको सामना गरिसकेको छ । लिग चरणमा नेपालले चुनौती दिदादिदै अब्बल प्रतिद्वन्दी भारतसँग ३–० को हार बेहोरेको थियो । शनिबार दोस्रो सेमीफाइनल खेलमा श्रीलङ्का विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले भारत विरुद्ध स्वर्ण पदकका लागि हुने खेलमा समेत निरन्तरता दिन आवश्यक देखिएको छ ।
यसअघि दक्षिण एसियाली खेलकुदमा नेपालले तीन पटक कास्य पदक जितेको थियो । सन् १९९९, २००६ र २०१६ मा नेपालले जितेको कास्य पदक नै महिला भलिबलमा उत्कृष्ट प्रदर्शन थियो । उपाधिको लागि स्थान सुनिश्चित गरेसँगै नेपालले कम्तिमा रजत पदक पाउने पक्का गरेको हो ।
पहिलो र दोस्रो सेटमा पछि परेको श्रीलङ्काले तेस्रो सेटमा जोडदार वापसी गरेको थियो । ११–१२ को स्थितिबाट अगाडि बढेको नेपाललाई श्रीलङ्काले २३–२० र २४–२१ सम्म पछ्याएको थियो । तर ब्लक गर्न आएको श्रीलङ्काली स्पाइकरलाई छक्याउँदै स्पाइकर प्रतिभा मालीले रिक्त स्थानमा बल खसाल्दै नेपालको ऐतिहासिक जित सम्भव बनाउनुभयो ।
तेस्रो स्थानको लागि माल्दिभ्सले सोमबार श्रीलङ्काको सामना गर्नेछ ।