गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १५ गते । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त खो खो पुरुष विधाको पहिलो खेलमा जित हात पारेको छ । नेपालले बङ्गलादेशको सामना गरेको थियो ।
कीर्तिपुरस्थित नयाँबजारमा आइतबार बिहान सम्पन्न खेलमा नेपालले बङ्गलादेश पुरुष टोलीलाई २१–१९ ले हरायो । पहिलो राउण्डमा बङ्गलादेशले १२–१२ को बराबरी खेलेपछि दोस्रो राउण्डको खेल भएको थियो । जसमा नेपालले बङ्गलादेशलाई पराजित गरेको हो । प्रतियोगिता अन्तगर्तको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बिहान भारतको सामना गर्नेछ ।
आइतबार बिहान नै सम्पन्न पुरुष विधा तर्फ भारतले श्रीलङ्कालाई हराएको छ । श्रीलङ्कामाथि भारतले २२–८ को जित हात पार्यो । प्रत्येक टोलीमा ९÷९ जना खेलाडी हुने खो खोमा पहिलो ९ मिनेटमा एउटा टोली रनर र अर्को चेजर हुन्छ । चेजरले रनर तीनजनालाई समयभित्रै आउट गरेपछि अर्को तीन जना थपिने हुन्छ ।