गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १५ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद सागको ब्याडमिन्टन प्रतियोगितामा नेपालले कम्तिमा दुई पदक जित्ने पक्का गरेको छ । पोखरामा सम्पन्न पुरुष र महिला विधा अन्तगर्तगको खेलमा नेपालले जित हात पार्दै कम्तिमा दुई पदक जित्ने सुनिश्चित गरेको हो ।
पोखरामा आजबाट सुरु भएको ब्याडमिन्टन अन्तगर्त पुरुष र महिला दुबै विधामा नेपालले जित हात पारेको छ । पुरुष विधामा नेपालका रत्नजित तामाङ्ले भुटानका अनिश गुरुङ्लाई २१–६ र २१–९ ले पराजित गर्नुभयो । अर्को स्पर्धामा नेपाली खेलाडी दिपेश धामीले भुटानका निदुप दोर्जेलाई २१–१३, २१–१४ ले पराजित गर्नुभयो । प्रिन्स दाहालले नोर्बु द्रडुपलाई २१–१२ र २१–५ को सेटमा हराउनुभयो ।
महिला विधामा नेपालले बङ्गलादेशलाई पराजित गर्यो । नेपालकी नैन्सल तामाङ र रशिला महर्जनले बङ्गलादेशकी शाल्पा र एलिना सुल्तानलाई हराइन् । नेपाली ब्याडमिन्टन टोलीका प्रशिक्षक सुदिप योञ्जनले क्वार्टरफाइनलमा नेपालले गरेको प्रदर्शनलाई निरन्तरता दिए उपाधिको लागि स्थान पक्का गर्ने बताउनुभयो ।
ब्याडमिन्टनको सात स्वर्ण, सात रजत र १४ कास्य पदकका लागि सात देशका ९४ खेलाडी स्पर्धा गर्दैछन् ।