गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १७ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष टी ट्वान्टी प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेको छ । श्रीलङ्काले साग पुरुष टी ट्वान्टीको पहिलो खेलमा नेपाललाई छ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य श्रीलङ्काले खेल सम्पन्न हुन पाँच बल बाँकी रहँदा मात्र चार विकेटको क्षतिमा १७५ रन बनाएर पुरा गरेको छ । खेलको अन्तिम ओभरमा अविनाश बोहराको चौथो ओभरको पहिलो बलमा श्रीलङ्काका अशने बन्दाराले चौका प्रहार गर्दै जित दिलाउनुभयो । तेस्रो ओभरमा ३६ रन जोडेर विष्फोटक सुरुवात गरेको श्रीलङ्काको तीन विकेट लगालग लिएर नेपाली बलरले उत्कृष्ट वापसी गरेको थियो । अर्को छेऊबाट शम्मु अशनले संयमित तर विष्फोटक ब्याटिङ्ग गर्दा नेपाली बलरहरु नीरिह बन्न पुगे ।
नेपालले औसत लक्ष्य प्रस्तुत गर्दागर्दै बलिङ्गमा कमजोर प्रदर्शन गर्दा श्रीलङ्काले सहजै जित हात पार्न सफल भयो । अविनाशले ३ ओभर १ बलमा ३७ रन खर्चेर विकेटविहीन बन्न पुग्नुभयो । करण केसीले चार ओभरमा ३६ रन खर्चिदा कुनै विकेट हात पार्न सक्नुभएन । सोमपाल कामीले दुई ओभर २९ रन खर्चिनुभयो । पवन सर्राफले दुई ओभरमा २० रन खर्चेर महत्वपूर्ण दुई विकेट लिनुभयो । सुशन भारीले चार ओभरमा २४ रन खर्चेर एक विकेट लिँदै श्रीलङ्काको पहिलो विकेट लिनुभयो । ललित राजवंशीले चार ओभरमा २४ रन खर्चेर विकेट विहीन बन्न पुग्नुभयो ।
श्रीलङ्काका लागि शम्मु असानले अविजित रहँदै ७२ रनको उत्कृष्ट पारी खेल्नुभयो । उहाँले मात्र ४४ बलको सामना गर्दै चार चौका र पाँच छक्काको सहयोगमा ७२ रन जोड्नुभयो । शम्मु असान खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो । ओपनर पथुम निस्साङ्काले मात्र १२ बलमा ३० तथा निशान मदुश्का फर्नान्डोले ४६ रन बनाउँदा सर्राफको शिकार हुन पुग्नुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता गरेको घरेलु टोली नेपालले कमजोर सुरुवात गर्नपुग्यो । ओपनर पारस खडकाको रुपमा दुई रनमै पहिलो विकेट गुमाएर दबाबमा आएको नेपाललाई मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले ७२ रनको विष्फोटक पारी खेलेर औसत योगफलसम्म पुर्याउनुभयो । उहाँले मात्र ४४ बलमा चार चौका र तीन छक्का लगाएर ७२ रन जोड्नुभयो । पवन सर्राफले पारीको अन्तिमतिर १३ बलमा दुई चौका र एक छक्काको सहयोगले २२ रनको योगदान दिनुभयो । करण केसी एक रनमा अविजित रहनुभयो । विनोद भण्डारीले २३ बलमा २१ रन बनाउनुभयो ।
कप्तान ज्ञानेन्द्र मल्लले आरिफ शेषसँग दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गर्नुभयो । मल्ल २१ रन बनाएर पेभेलियन फर्किनुभयो । शेषले १५ बलमा दुई छक्का लगाएर १९ रन बनाउनुभयो ।
श्रीलङ्काली बलरहरुमा कमिन्डु म्यान्डिसले सर्वाधिक दुई तथा असिथा फर्नान्डो, कविष्का अञ्जुला र दुविन्डु तिलकरत्नेले सामान एक एक विकेट लिनुभयो ।