इश्वरचन्द्र झा
काठमाडौं, मङ्सिर २० गते । नेपाली पुरुष क्रिकेट टोलीले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको फाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ । आफ्नो तेस्रो खेलमा आज माल्दिभ्सलाई हराएको नेपालले लिगको अन्तिम खेलमा बङ्गलादेशलाई हराए फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ ।
नेपालले आफ्नो तीन खेलमध्ये दुईटा जित हात पारेर चार अङ्क जोडेको छ । नेपालले श्रीलङ्का विरुद्धको आफ्नो पहिलो खेलमै हार बेहोरेको थियो । नेपाल विरुद्ध छ विकेटले जित हात पारेको श्रीलङ्काले लिग चरणमा आफ्नो तीन खेल जितेर अङ्कतालिकाको शिर्ष स्थानमा छ । उसको छ अङ्क छ । श्रीलङ्काले लिग चरणको आफ्नो महत्वपूर्ण एक खेल खेल्न बाँकी छ ।
प्रतियोगितामा अब्बल मानिएको दुई टोली श्रीलङ्का र बङ्गलादेशले एक अर्काको सामना गर्दा नेपाली क्रिकेट प्रशंसकको नजर उक्त खेलमाथि हुनेछ । श्रीलङ्काले उक्त खेलमा जित बेहोरे ऊ स्वतः फाइनलमा पुग्नेछ । तर बङ्गलादेशले उक्त खेलमा जित हात पारे उसको फाइनल पुग्ने सम्भावना बलियो हुन जान्छ र नेपाल विरुद्धको अन्तिम खेल निर्णायक हुनेछ । श्रीलङ्का र नेपाल दुबै राष्ट्र विरुद्धको खेल गुमाएको अवस्थामा मात्रै नेपालको फाइनलको यात्रा सहज, सुरक्षित र सुनिश्चित हुनेछ ।
बङ्गलादेशले श्रीलङ्का विरुद्धको खेलमा जित हात पारे र नेपालसँग हार बेहोरे नेट रन रेटको आधारमा फाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बङ्गलादेशको सामना शनिबार त्रिवि क्रिकेट ग्राउण्डमा गर्नेछ । उक्त खेल बिहान एघारबजेदेखि हुनेछ । लिगको आफ्नो अन्तिम खेलमा बङ्गलादेशले श्रीलङ्काको सामना गर्नेछ । उक्त खेल आइतबार हुनेछ ।
बङ्गलादेशले भने दुई खेलमध्ये दुबैमा जित हात पारेर चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छन् । उसले भुटान र माल्दिभ्सलाई हराएको छ ।
यसअघि तेस्रो खेलमा नेपालले माल्दिभ्समाथि ८४ रनको जित हात पार्यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको ग्राउन्डमा नेपालले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य पछ्याउँदै माल्दिभ्सले पुरा २० ओभर खेलेपनि छ विकेटको क्षतिमा मात्र ७९ रन जोड्न सक्यो ।
नेपालका लागि ललित नारायण राजवंशी र सुशन भारीले सामान दुई दुई विकेट लिनुभयो । पवन सर्राफले एक विकेट लिनुभयो । पवनले कसिलो बलिङ्ग गर्नुहुँदै तीन ओभरमा मात्र तीन रन खर्चिनुभयाृ । करण केसी, अविनाश बोहरा र पारस खडका विकेटविहीन बन्न पुग्नुभयो ।
नेपालले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो । नेपाललाई उच्च योगफलको लक्ष्यसम्म पुर्याउन करण केसीको विष्फोटक पारी महत्वपूर्ण रहयो । आठौं नम्बरमा ब्याटिङ्ग गर्न आउनुभएका करणले मात्र १६ बलमा दुई चौका र चार छक्कासहित ४० रन बनाएर अविजित रहनुभयो ।
दिपेन्द्र सिंह ऐरीले ३९ तथा विनोद भण्डारीले १९ रनको योगदान दिनुभयो । भुटान विरुद्धको खेलमा उत्कृष्ट ओपनिङ्ग गर्नुभएका पारस खडका र ज्ञानेन्द्र मल्लको जोडीले फेरी एकपटक प्रशंसकलाई निराश बनाउनुभयो । नेपालले स्कोरबोर्डमा १५ रन जोडदा पारस पेभेलियन फर्किनुभयो । उहाँले ९ बलको सामना गर्दै ११ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १९ रन थप्नुभयो । आरिफ शेषले ११ बलमा १७ रनको योगदान दिनुभयो । रोहित पौडेलले १० रन बनाउनुभयो ।
माल्दिभ्सको बलिङ्गमा लीम शफिगले सर्वाधिक तीन, अमील मौरुफले दुई तथा उमर अदम र मोहम्मद महफूजले सामान एक एक विकेट लिनुभयो ।