logo
२०८१ मंसिर ७ शुक्रवार



भारत्तोलनका विकासले दिलाए नेपाललाई ४० औं स्वर्ण

खेलकुद |


भारत्तोलनका विकासले दिलाए नेपाललाई ४० औं स्वर्ण


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २० गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को भारत्तोलन विधामा दोस्रो स्वर्ण जितेको छ । नेपालका लागि विकास थापाले ८९ किलो तौल समूहमा स्वर्ण पदक दिलाउनुभएको हो ।
पोखरामा सम्पन्न भारत्तोलनको उक्त विधामा विकासले बङ्गलादेशका मोहम्मदभन्दा एक किलो बढी उचालेर स्वर्ण पदक जित्नुभयो । उहाँले स्न्याचमा १२३ किलो र क्लिन एण्ड जर्कमा १४० किलो गरी २६९ किलो भारवहन गर्नुभयो । विकासको स्वर्णसँगै नेपालको पदक तालिकामा स्वर्ण संख्या ४० पुगेको छ ।
यसअघि सुवास तामाङले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को गल्फ विधामा स्वर्ण पदक जित्नुभयो । सुवासले गल्फको एकल र टिम इभेन्टमा स्वर्ण पदक जित्नुभएको हो ।
गोकर्णमा सम्पन्न सागको गल्फ विधा अन्तगर्त सुवासले अन्तिम दिन तीन अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित नेपाललाई ३८ औं तथा ३९ औं स्वर्ण दिलाउनुभयो । उहाँले बङ्गलादेशका मोहम्मद फरहादलाई पराजित गर्नुभयो । फरहादले ६ अन्डर २८२ स्कोर जोड्नुभयो । उहाँको उमेर १७ वर्ष छ । नेपालका लागि सबैभन्दा कम उमेरमा दोहोरो स्वर्ण दिलाएको कीर्तिमान समेत सुवासले बनाउनुभएको छ ।
टिम इभेन्टमा सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले संयुक्त स्वर्ण दिलाउनुभयो ।
यसअघि गोपीचन्द पार्कीले दक्षिण एसियाली खेलकुदको पुरुष पाँच हजार मिटर दौडमा भारतीय प्रतिद्वन्दीलाई पराजित गर्दै नेपाललाई ३७ औं स्वर्ण दिलाउनुभयो । उहाँले पाँच हजार मिटरको दूरी पार गर्न १४ मिनेट ५४।२० सेकेण्ड लगाउनुभयो । भारतका सुनिल दवारले उक्त दूरी १४ मिनेट ५५।२१ सेकेण्डमा पार गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?