गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २१ गते । नेपाली पुरुष क्रिकेट टोली तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को स्वर्ण पदकको स्पर्धाबाट बाहिरिएको छ । लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा बङ्गलादेशबाट ४४ रनले हार बेहोरेपछि नेपालको फाइनल पुग्ने सम्भावना सकिएको छ ।
साग पुरुष टी ट्वान्टी स्पर्धा अन्तगर्त नेपालले शनिबार बङ्गलादेश विरुद्धको खेलमा हार बेहोरेको छ । हारसँगै नेपालले तेस्रो स्थानका लागि भुटान र माल्दिभ्सबीचको विजेतासँग स्पर्धा गर्नेछ । बङ्गलादेशले भने श्रीलङ्कासँगको भेट सुनिश्चित गरेको छ । तीन खेलबाट छ अङ्क बटुलेको बङ्कलादेशले लिगमा श्रीलङ्का विरुद्धको खेल खेल्न बाँकी नै रहँदा स्वर्णको स्पर्धाका लागि स्थान सुनिश्चित गरेको छ । श्रीलङ्काले पनि तीन खेलबाट छ अङ्क नै जोडेको छ । चार खेलमध्ये भुटान र माल्दिभ्समाथि जितेपनि बङ्गलादेश र श्रीलङ्कासँग हार बेहोरेको नेपालको चार अङ्क छ ।
बङ्गलादेशले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याउँदै नेपाली क्रिकेट टोली २० ओभर खेलेपनि ९ विकेटको क्षतिमा १११ रन बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा कप्तान ज्ञानेन्द्र मल्ले संयमित पारी खेल्नुहुँदै ४३ बलमा ४३ रनको योगदान गरेपनि पर्याप्त भएन । अर्का ओपनर पारस खडका ९ रनमै पेभेलियन फर्किनुभयो । ठूला स्पर्धामा नेपाली सिनियर खेलाडीको कमजोर प्रदर्शन पछिल्ला समयमा टाउको दुखाइ बन्दै आएको छ । बङ्गलादेश विरुद्धको स्पर्धामा मल्ल अतिरिक्तका कुनै ब्याट्सम्यान चल्न सकेनन ।
११ रनमै पारस पेभेलियन फर्किएपछि तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न आउनुभएका पवन सर्राफ र चौथो नम्बरका आरिफ शेष डक आउट भएपछि नेपाली प्रशंसक निराश बने । मध्यक्रम तथा पुछारका अन्य कुनै ब्याट्सम्यानले अर्को छेऊबाट ब्याटिङ्ग गर्नुभएका कप्तान ज्ञानेन्द्र मल्ललाई सघाएनन । दिपेन्द्रसिंह ऐरी १६, रोहित पौडेल ८, विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारी तीन, करण केसी १, सुशन भारी दुई र अविनाश बोहरा १३ रनमा पेभेलियन फर्किनुभयो ।
बङ्गलादेशका लागि सुमोन खान, तन्वीर आलम, सौम्य सरकार र मेहेदी हसनले सामान दुई दुई विकेट बाँड्नुभयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ्ग गरेको बङ्गलादेशले कमजोर सुरुवात गरेको थियो । १६ रनमै बङ्गलादेशको तीनजना ब्याटसम्यानलाई पेभेलिय फर्काएर प्रारम्भिक दबाब दिनुभएको थियो । पारस खडकाले बङ्गलादेशका ओपनर मोहम्मद नइम र सौम्य सरकार तथा सैफ हस्सनको विकेट लिएर नेपाललाई राम्रो सुरुवात दिलाउनुभयो । तर कप्तान नज्मल होस्सैन शान्टो र अफिफ होस्सैनले पाँचौं विकेटका लागि ९४ रनको साझेदारी गरेर नेपालको फाइनल पुग्ने सपना चकनाचुर पारे । कप्तान शान्टोले ७५ तथा होस्सैनले ५२ रनको योगदान दिएर बङ्गलादेशलाई स्वर्णको स्पर्धामा स्थान सुनिश्चित गराउनुभयो ।