गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २२ गते । बङ्गलादेशले तेह्रौं दक्षिण एसियली खेलकुद साग अन्तगर्त महिला क्रिकेट विधाको उपाधि जितेको छ । बङ्गलादेशले श्रीलङ्कालाई दुई रनको झिनो अन्तरले हराउँदै साग महिला क्रिकेटमा स्वर्ण पदक जितेको हो ।
पोखरामा आइतबार सम्पन्न खेलमा बङ्गलादेशले प्रस्तुत गरेको ९२ रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काले पुरा २० ओभर खेलेपनि ९ विकेटको क्षतिमा ८९ रन मात्रै जोडन सक्यो । श्रीलङ्कालाई अन्तिम तीन ओभरमा मात्र १६ रनको आवश्यक रहँदा उसले ल्याउन सकेनन । बङ्गलादेशले भने अन्तिम तीन ओभरमा घातक बलिङ्ग गर्दै मात्र १३ रन खर्चेर चार विकेट लिएको थियो । हर्षिता माधवीले सर्वाधिक ३२ रन बनाउनुभयो । लिहिनि अप्सराले भने २५ रन जोड्नुभयो ।
बङ्गलादेशका लागि नहिदा अख्तरले सर्वाधिक दुई तथा जहानरा आलम, सल्मा खातुन र खदिजा तुल कुब्राले सामान एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको बङ्गलादेशले पुरा २० ओभर खेलेर ८ विकेटको क्षतिमा ९१ रनको औसत योगफल तयार गरेको थियो । बङ्गलादेशलाई औसत योगफलसम्म पुर्याउन निगर सुल्तानाले अविजित रहनुहुँदै सर्वाधिक २९ रनको योगदान दिनुभयो । सञ्जिदा इश्लाम र फहिमा खातुनले सामान १५ रन बनाउनुभयो ।
श्रीलङ्काका लागि उमेशा थिमिसिनिले सर्वाधिक चार विकेट लिनुभयो । त्यसैगरी, सथ्या सन्दीप्नी, थरिका सेवान्डी, कविशा दिलहरि र मल्शा रणथुङ्गाले सामान एक एक विकेट बाँड्नुभयो ।