गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २३ गते । नेपाली पुरुष क्रिकेट टोलीले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा कास्य पदक जितेको छ । नेपालले तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्सलाई पाँच विकेटले हराउँदै कास्य पदक जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा सम्पन्न खेलमा माल्दिभ्सले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरको पहिलो बलमा पाँच विकेटको क्षतिमा ९८ रन बनाएर पुरा गर्यो । रोहित कुमार पौडेल १५ तथा पवन सर्राफ १० रन बनाएर अविजित रहनुभयो । कप्तान ज्ञानेन्द्र मल्ल २२ तथा आरिफ शेषले ३२ रनको योगदान दिनुभयो । पारस खडका भने तीन रनको ब्यक्तिगत् योगफलमै पेभेलियन फर्किनुभयो । बिनोद भण्डारीले १२ तथा दिपेन्द्रसिंह ऐरीले दुइ रन बनाएर आउट हुनुभयो ।
माल्दिभ्सका लागि उमर अदामले सर्वाधिक तीन विकेट लिनुभयो । लीम शफिगले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको माल्दिभ्सले कमजोर सुरुवातका बावजूद रक्षात्मक योगफल तयार गरेको थियो । माल्दिभ्सका लागि ओपनर मोहम्मद रिश्वानले १७ तथा लीम शाफिगले सर्वाधिक १९ रन बनाउनुभयो । उहाँ अविजित रहनुभयो । नेपालका लागि ललित नारायण राजवंशीले सर्वाधिक तीन तथा सुशन भारीले दुई र पारस खडकाले एक विकेट लिनुभयो । राजवंशी खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।
बङ्गलादेश विरुद्ध हार बेहोरेपछि नेपाल फाइनलको स्पर्धाबाट बाहिरिएको थियो ।