logo
२०८१ मंसिर ७ शुक्रवार



रुसमाथि खेलकुद प्रतिस्पर्धामा चार वर्षको प्रतिबन्ध

खेलकुद |


रुसमाथि खेलकुद प्रतिस्पर्धामा चार वर्षको प्रतिबन्ध


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २३ गते । रुसमाथि आगामी चार वर्षका लागि ठूला खेलकुद प्रतियोगिता खेल्न प्रतिबन्ध लगाइएको छ । ‘वल्र्ड एन्टी–डोपिङ एजेन्सी– वाडा’ले रुसमाथि उक्त कठोर प्रतिबन्ध लगाएको छ ।
रुसमाथि उक्त प्रतिबन्ध लागेपछि उसले सन् २०२० को टोक्यो ओलम्पिक र सन् २०२२ को फुटबल विश्वकपमा समेत भाग लिन पाउने छैन् । फुटबल विश्वकप कतारमा हुनेछन् । वाडाको स्वीटजरल्याण्डमा सम्पन्न कार्यसमितिको बैठकले रुसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सन् २०१४ को हिउँदे ओलम्पिकमा राम्रो प्रदर्शन दिन रुसी खेलाडीले भारी मात्रामा प्रतिबन्धित औषधी सेवन गरेको आरोपमा वाडाले रुसलाई प्रतिबन्ध लगाएको थियो । जसका कारण सन् २०१८ को हिउँदे ओलम्पिकमा सहभागी भएका १६८ रुसी खेलाडी ओलम्पिकको झण्डामुनि खेलेका थिए । रुसले वाडाको उक्त आरोप अस्वीकार गर्दै आएको छ । वाडाले भने लगाइएको प्रतिबन्ध फुकुवा गर्न प्रतिबन्धित औषधी सेवन सम्बन्धि खेलाडीको तथ्याङ्क मागेको थियो ।
सन् २०१९ को जनवरीमा रुसको एन्टी डोपिङ एजेन्सीले वाडालाई मागिएको तथ्याङ्क उपलब्ध गराएको थियो । तर उक्त तथ्याङ्क गलत रहेको पुष्टी भएपछि वाडाले प्रतिबन्ध लम्ब्याउन पुगेको हो । रुसलाई निर्णयमाथि पुनरावेदनको लागि २१ दिनको म्याद दिइएको छ ।
सन् २०१८ को हिउँदे ओलम्पिकमा १६८ जना रुसी खेलाडी सहभागी भएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?